• २०८३ मंसिर ११
  • 2026 November 27, Friday

किन विवादमा पर्यो ६८१ कलेजमा कार्यक्रम थप गर्ने त्रिविको निर्णय ?

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ६८१ क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम, विषय, सेक्सन तथा विद्यार्थी कोटा विस्तार गर्ने प्रक्रिया अघि बढाएपछि त्यसलाई लिएर विवाद चर्किएको छ। कार्यक्रम थपका लागि सार्वजनिक गरिएको ६८१ कलेजको प्रारम्भिक सूचीमा आवश्यक भौतिक पूर्वाधार, योग्य शिक्षक र पर्याप्त विद्यार्थी नभएका कलेजहरुसमेत समेटिएको भन्दै विद्यार्थी प्रतिनिधिहरूले छनोट प्रक्रियाको निष्पक्षता र विश्वविद्यालयको भूमिकामाथि प्रश्न उठाएका हुन्।

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु अध्यक्ष दीपकराज जोशीले आवश्यक शैक्षिक तथा भौतिक पूर्वाधार नभएका, शिक्षक र विद्यार्थीको पर्याप्त व्यवस्था गर्न नसकेका, सम्बन्धन खारेजीको अवस्थामा पुगिसकेका क्याम्पस र एउटै भवन तथा परिसरमा दुई फरक विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका संस्थालाई पनि योग्यता पुग्ने सूचीमा राखिएको भन्दै विरोध गरे।

“टीयु (त्रिभुवन विश्वविद्यालय) ले कार्यक्रम तथा कोटा थप गर्ने निर्णय गर्दा त्रिवि सम्बन्धन सम्बन्धी विनियम, २०७३ को समेत उलङ्घन भएको छ । टीयुले नै यसरी मापदण्डविपरीत सम्बन्धन बाँढ्दै हिड्यो भने शिक्षाको गुणस्तर कहाँ पुग्छ ?” जोशीले प्रश्न गरे ।

जोशीले अहिलेको प्रक्रिया रद्द गरी वास्तविक अवस्थाको अध्ययन र मूल्यांकन पश्चात मात्रै नयाँ कार्यक्रम थपका लागि योग्य कलेजहरुको सूची तयार गर्नुपर्ने माग गरेका छन्। त्यसो नगरे चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी जोशीको छ ।

जोशीले भने, “यस सम्बन्धमा त्रिविका उपकुलपति प्रा. डा. भोला थापालाई भेटेर सूची पुनरावलोकन गर्न माग गरेका छौँ। गुणस्तर, सुशासन कायम राख्न विश्वविद्यालय योजना निर्देशनालय र सम्बन्धित डिन कार्यालय जिम्मेवार बन्नुपर्ने देखिन्छ। कार्यक्रम सम्बन्धन प्राप्तिको लागि मुल्यांकनमा चलखेल भएको गुनासो छ। यस्तोमा तुरुन्त छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्छ।माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्न हामी बाध्य हुनेछौँ।”

निजी कलेजको प्रभाव र स्वार्थलाई प्राथमिकता दिएर ठूलो संख्यामा कार्यक्रम तथा सम्बन्धन थप गर्न खोजिएको भन्दै त्यसले त्रिविको शैक्षिक गुणस्तर र संस्थागत भविष्यमा असर पर्ने स्ववियू विद्यार्थी प्रतिनिधिहरुको भनाई छ।

त्रिविले कार्यक्रम विस्तारका लागि सार्वजनिक गरेको प्रारम्भिक सूचीमा शिक्षा संकाय अन्तर्गत स्नातकोत्तर तहका लागि कार्यक्रम थप गर्न सकिने कलेहरुको संख्या ४८ छ। यस्तै, शिक्षा संकाय अन्तर्गत पीजीडीई तहमा १४ र स्नातक तहमा ७२ कलेजहरुलार्य योग्य ठहर्याइएको छ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तहका १२८ र मानविकी तथा सामाजिक शास्त्र संकायमा स्नातक तहमा १०४ तथा स्नातकोत्तर तहमा ४० कलेजहरुलाई योग्य मानिएको छ।
यसबाहेक, व्यवस्थापन संकायअन्तर्गत स्नातक र स्नातकोत्तर तहका लागि योग्य ठहराइएको कलेजको संख्या २७५ छ ।

विद्यार्थी प्रतिनिधिहरुले यही सूचीमा उल्लेखित थुप्रै कलेजहरुको सम्बन्धन तथा कार्यक्रम थप सम्बन्धी मापदण्ड पुरा नुहने भन्दै विरोध जनाएका हुन्।

उता, विवाद चर्किएपछि त्रिवि उपकुलपतिको कार्यालयले बुधबार जरुरी सूचना जारी गर्दै सूचीमा परेका सम्बन्धनप्राप्त कलेजहरुसँग थप विवरण माग गरेको छ।

विश्वविद्यालयको योजना निर्देशनालयले सम्बन्धित संस्थालाई एउटै परिसरमा त्रिविबाहेक अन्य कुनै स्वदेशी वा विदेशी विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्बाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन नगरेको आधिकारिक स्वघोषणापत्र बुझाउन निर्देशन दिएको हो।

विश्वविद्यालय कार्यकारी परिषद्को २०८३ कात्तिक २१ गतेको निर्णयअनुसार कार्यक्रम, विषय, सेक्सन तथा कोटा थपका लागि सूचीकृत भएका क्याम्पसले मंसिर १५ गतेभित्र यस्तो विवरण पेस गर्न सूचनामा भनिएको छ।

स्वघोषणामा एउटै व्यवस्थापनअन्तर्गतको परिसरमा त्रिविबाहेक अन्य विश्वविद्यालयका कार्यक्रम सञ्चालन नगरेको स्पष्ट उल्लेख गर्नुपर्नेछ। विवरण गलत वा झुटो प्रमाणित भएमा विश्वविद्यालयको नियम अनुसार हुने कारबाही स्वीकार गर्ने प्रतिबद्धतासमेत संस्थाले जनाउनुपर्ने निर्देशनमा उल्लेख छ।

त्रिविका प्रवक्ता नविन्द्र प्रसाद भण्डारीले कार्यक्रम थपको निर्णयमा गुनासो बढेपछि कलेजहरुलाई नै जवाफदेही बनाउन स्वघोषणाको व्यवस्था गरिएको बताए ।

भण्डारीले भने, “एउटै भवनमा त्रिविसँगै अन्य विश्वविद्यालयको सम्बन्धन लिएर चलाइरहेको भन्ने गुनासो आएपछि हामीले कलेज स्वंयले स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेका हौँ। स्वघोषणामा घोषणा गरिएका विषयवस्तु फरक भएमा वा झुटा व्यहोरा उल्लेख गरेको पाइएमा त्यस्ता कलेजहरुको सम्बन्धन खारेज गरिने छ।”

भण्डारीले अहिले सार्वजनिक गरिएको सूची अन्तिम नभएको समेत उल्लेख गरे ।

भण्डारीले भने, “अहिले सार्वजनिक गरिएको सूची अन्तिम हैन। सूचीमा परेका कलेजहमाथि प्राप्त उजुरी तथा दाबी-विरोधहरुको अध्ययनपछि मात्र त्रिविले अन्तिम निर्णय लिन्छ।”