• २०८३ मंसिर १२
  • 2026 November 28, Saturday

हुण्डीको शंकास्पद कारोबारमा बैंककै हिस्सा ९० प्रतिशत, पाँच वर्षमा २७३ करोड जफत

काठमाडौं । नेपालमा हुण्डीको कारोबार परम्परागत नगद ओसारपसारबाट क्रमशः डिजिटल र औपचारिक वित्तीय प्रणालीसँग जोडिएको सञ्जालमा रूपान्तरण भइरहेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ।

नेपाल राष्ट्र बैंकअन्तर्गतको ‘फाइननसियल इन्टेलिजेन्स युनिट’ ले सार्वजनिक गरेको हुण्डीसम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदनले हुण्डी कारोबारमा बैंक खाता, रेमिट्यान्सका स्थानीय एजेन्ट, व्यावसायिक कम्पनी, डिजिटल भुक्तानी प्रणाली र भर्चुअल सम्पत्तिसमेत प्रयोग हुन थालेको उल्लेख गरेको छ। यसको अर्थ हुण्डीको पैसा बैंकिङ प्रणालीबाहिर मात्र घुम्दैन; त्यसको एउटा हिस्सा बैंकिङ प्रणालीभित्रै प्रवेश गरेर विभिन्न खातामार्फत अन्तिम लाभग्राहीसम्म पुग्न सक्छ।

प्रतिवेदन अनुसार २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म हुण्डीलाई छुट्टै सम्बद्ध कसूरका रूपमा वर्गीकरण गरेपछि प्राप्त १५ हजार ८१५ शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये १ हजार ६७२ वटा हुण्डीसँग सम्बन्धित छन्।

पाँच वर्षमा १९७ अनुसन्धान, ३८७ करोडको दाबी

नेपाल प्रहरीबाट प्राप्त तथ्यांकका आधारमा युनिटले पछिल्ला पाँच आर्थिक वर्षमा हुण्डीसम्बन्धी १९७ वटा अनुसन्धान सुरु भएको जनाएको छ। तीमध्ये १९० मुद्दा अदालतमा दायर भएका छन्। १०३ मुद्दामा अन्तिम फैसला भएको प्रतिवेदनमा उल्लेख छ।

यी अनुसन्धानमा ३३१ जना व्यक्ति जोडिएका छन्। प्रहरी अनुसन्धानमा दाबी गरिएको रकम ३८७ करोड २ लाख रुपैयाँ पुगेको छ।

प्रतिवेदनको तालिका ४ अनुसार पाँच वर्षमा ३८६ करोड १२ लाख ६० हजार रुपैयाँ बराबरको रकम जफत गरिएको छ। १६ करोड ४३ लाख ५० हजार रुपैयाँ रोक्का गरिएको छ भने २७३ करोड ६१ लाख ७० हजार रुपैयाँ बराबरको सम्पत्ति जफत भएको छ।

यी रकमको कानुनी अवस्था भने फरक छ। अनुसन्धानमा दाबी गरिएको रकम, जफत गरिएको रकम, रोक्का गरिएको रकम र अदालतबाट अन्तिम रूपमा जफत भएको सम्पत्तिलाई एउटै अर्थमा बुझ्न मिल्दैन।

हुण्डीसम्बन्धी अनुसन्धानको संख्या पनि बढ्दो देखिन्छ। आर्थिक वर्ष २०७८/७९ मा १८ वटा अनुसन्धान सुरु भएकोमा २०८१/८२ मा ६० पुगेको छ। पाँच वर्षको अवधिमा १९७ अनुसन्धान सुरु भएको तथ्यांकले हुण्डीसम्बन्धी कसूरमा प्रहरीको सक्रियता बढेको देखाउँछ।

अदालतमा फैसला भएका मुद्दामा संलग्न व्यक्तिको संख्या पनि बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा १४ फैसलामा २६ व्यक्ति संलग्न थिए। २०८२/८३ को जेठसम्म ३० फैसलामा १०६ व्यक्ति जोडिएका छन्।

युनिटका अनुसार प्रतिमुद्दा संलग्न व्यक्तिको औसत संख्या करिब १.९ बाट ३.५ पुगेको छ। यसले हुण्डी व्यक्तिगत कारोबारभन्दा पनि धेरै व्यक्ति, एजेन्ट र सञ्चालक जोडिएको नेटवर्कका रूपमा सञ्चालन भइरहेको संकेत गर्छ।

बैंकबाटै ९० प्रतिशत शंकास्पद प्रतिवेदन

हुण्डीको कारोबारमा बैंकिङ प्रणालीको भूमिका कति छ भन्ने संकेत युनिटमा प्राप्त शंकास्पद कारोबार प्रतिवेदनले दिन्छ।

२०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म विभिन्न कसूरसँग सम्बन्धित १५ हजार ८१५ वटा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त भएका थिए। तीमध्ये १ हजार ६७२ वटा हुण्डीसँग सम्बन्धित थिए। यो कुल प्रतिवेदनको १०.५७ प्रतिशत हो।

हुण्डीसम्बन्धी प्रतिवेदनमध्ये १ हजार ५०३ वटा वाणिज्य बैंकबाट आएका छन्। अर्थात्, हुण्डीसम्बन्धी शंकास्पद कारोबार प्रतिवेदनको करिब ९० प्रतिशत वाणिज्य बैंकले पठाएका हुन्।

विकास बैंकबाट १२०, वित्त कम्पनीबाट २८, रेमिट्यान्स कम्पनीबाट १३ र भुक्तानी सेवा प्रदायकबाट आठवटा प्रतिवेदन आएका छन्।

यो तथ्यांकले बैंकहरू हुण्डी कारोबारका प्रमुख सञ्चालक हुन् भन्ने प्रमाणित गर्दैन। बरु, बैंक खातामा देखिएका शंकास्पद गतिविधि पहिचान गरी वित्तीय जानकारी इकाईमा पठाउने संस्थाका रूपमा बैंकको भूमिका ठूलो रहेको देखाउँछ। तर यसले हुण्डीको एउटा हिस्सा औपचारिक बैंकिङ प्रणालीको प्रयोगबाट सञ्चालन हुन सक्ने जोखिमलाई भने स्पष्ट पार्छ।

युनिटले १ हजार ६७२ प्रतिवेदनमध्ये २०० वटा नमुना छनोट गरी विश्लेषण गरेको छ। यो नमुना साधारण यादृच्छिक छनोट विधिबाट लिइएको हो। त्यसैले यसबाट आएका निष्कर्षलाई नेपालमा हुण्डी गर्ने सबै व्यक्ति वा कारोबारको पूर्ण चित्रका रूपमा बुझ्नु हुँदैन।

सीमावर्ती जिल्लाबाट बैंक खातासम्म

युनिटले १ हजार ६७२ प्रतिवेदनमध्ये २०० वटा नमुना छनोट गरी गरेको नमुना विश्लेषणमा हुण्डीसँग सम्बन्धित संदिग्ध व्यक्ति वा संस्थाको दर्ता ठेगाना मधेश प्रदेशमा सबैभन्दा बढी देखिएको छ। मधेशको हिस्सा ५३ प्रतिशत छ। कोशी प्रदेश १६ प्रतिशत र लुम्बिनी प्रदेश १२.५ प्रतिशत छन्।

जिल्लागत रूपमा सिरहा २१, सप्तरी २०, सुनसरी १८, धनुषा १६ र महोत्तरी १५ जना संदिग्धसँग सम्बन्धित प्रतिवेदनमा देखिएका छन्। बारा र रौतहटमा क्रमशः ११ र १० जना छन्। मोरङमा १०, काठमाडौंमा आठ र रुपन्देहीमा छ जना छन्।

प्रतिवेदनले मधेश प्रदेशको खुला सीमाना, भारतसँगको भौगोलिक निकटता र वैदेशिक रोजगारीमा जाने ठूलो जनसंख्यालाई हुण्डीको जोखिमसँग जोडेको छ।

नमुना विश्लेषणमा ८४ प्रतिशत संदिग्ध पुरुष र १६ प्रतिशत महिला छन्। उमेर समूहका आधारमा २५ देखि ३४ वर्षका व्यक्तिको हिस्सा ३९ प्रतिशत छ। ३५ देखि ४४ वर्ष समूहको हिस्सा २६.५ प्रतिशत र १८ देखि २४ वर्ष समूहको हिस्सा १८ प्रतिशत रहेको छ।

खुद्रा व्यापार र रेमिट्यान्स एजेन्टको आवरण

हुण्डीसम्बन्धी प्रतिवेदनमा जोडिएका फर्ममध्ये खुद्रा व्यापार गर्ने व्यवसायको हिस्सा ४३ प्रतिशत र रेमिट्यान्स सब-एजेन्टको हिस्सा ४१.५ प्रतिशत छ। यी दुई समूह जोड्दा ८४.५ प्रतिशत हुन्छ।

रेमिट्यान्स सब-एजेन्टहरू सामान्यतः बैंक वा इजाजतप्राप्त रेमिट्यान्स कम्पनीका स्थानीय भुक्तानी साझेदार हुन्छन्। तर कतिपय अवस्थामा यस्ता व्यवसायलाई औपचारिक कारोबारको आवरणमा हुण्डीको रकम मिलाउन प्रयोग गरिएको हुन सक्ने प्रतिवेदनको विश्लेषण छ।

प्रतिवेदनमा उल्लेख गरिएको एउटा केसमा महोत्तरीका ३४ वर्षीय व्यक्ति र उनको सब-एजेन्ट फर्मसँग सम्बन्धित सातवटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएका थिए। विभिन्न व्यक्तिले फर्मको बैंक खातामा २८ करोड रुपैयाँभन्दा बढी जम्मा गरेका थिए। त्यसपछि रकम विभिन्न बैंक तथा वित्तीय संस्थाका खातामा कनेक्ट आईपीएस लगायतका माध्यमबाट पठाइएको थियो।

उक्त खातामा रेमिट्यान्स कम्पनीबाट प्रत्यक्ष रकम आएको अभिलेख नदेखिएको प्रतिवेदनमा उल्लेख छ। यसले फर्मको घोषित व्यवसाय र बैंक खातामा देखिएको कारोबारबीच असंगति रहेको आशंका पैदा गरेको थियो।

नयाँ खाता, धेरै निक्षेपकर्ता र तत्काल रकम स्थानान्तरण

हुण्डीसम्बन्धी शंकास्पद कारोबारमा प्रयोग भएका बैंक खाताको उमेर पनि विश्लेषण गरिएको छ। प्रतिवेदनअनुसार तीन महिनाभित्र खोलिएका खातासँग सम्बन्धित ९.५ प्रतिशत प्रतिवेदन थिए। करिब ४० प्रतिशत प्रतिवेदन खाता खोलेको एक वर्षभित्रै आएका थिए।

यसले केही नयाँ बैंक खाता हुण्डी कारोबारका लागि प्रयोग गरिएको वा अरू व्यक्तिको नियन्त्रणमा रहेको ‘मनी म्युल’ खाता हुन सक्ने सम्भावना देखाएको छ।

हुण्डी कारोबारमा प्रयोग हुने एउटा विधि धेरै व्यक्तिबाट साना-साना रकम नगद जम्मा गराउने र त्यसपछि ती रकम विभिन्न खातामा तत्काल स्थानान्तरण गर्ने हो। कतिपय अवस्थामा एक लाख रुपैयाँको सीमा नाघ्न नदिई फरक-फरक बैंक शाखा वा खाताबाट रकम जम्मा गरिन्छ।

त्यसपछि रकम कनेक्ट आईपीएस वा अन्य डिजिटल माध्यमबाट अर्को खातामा पठाइन्छ। यसरी एउटै स्रोतबाट आएको रकमलाई धेरै खातामा विभाजन गर्दा वास्तविक कारोबारकर्ता र रकमको उद्देश्य पहिचान गर्न कठिन हुन सक्छ।

प्रतिवेदनलेले यस्तो कारोबारलाई हुण्डी पहिचान गर्ने प्रमुख संकेतका रूपमा उल्लेख गरेको छ। घोषित आम्दानी वा व्यवसायसँग मेल नखाने नगद कारोबार, धेरै असम्बन्धित व्यक्तिबाट रकम जम्मा हुनु, जम्मा भएको रकम तुरुन्तै अर्को खातामा पठाइनु र एउटै मोबाइल नम्बर वा उपकरणबाट धेरै खाता सञ्चालन हुनु शंकास्पद गतिविधिका संकेत हुन्।

सुन तस्करीदेखि क्रिप्टोकरेन्सीसम्म

हुण्डीको सञ्जाल केवल वैदेशिक रोजगारीको रकम हस्तान्तरणमा सीमित छैन। प्रतिवेदनले सुन तस्करी, अवैध अनलाइन जुवा तथा बेटिङ, व्यापारिक मूल्यांकनमा हेरफेर र भर्चुअल सम्पत्तिसँग जोडिएका जोखिम पनि औँल्याएको छ।

प्रतिवेदनमा सुन तस्करीसँग सम्बन्धित एउटा केसमा Paywell Nepal र Sajilo Pay नामका भुक्तानी सेवा प्रदायकको प्रयोग भएको उल्लेख छ। उक्त केसमा विदेशमा संकलित रकम विदेशमै राखेर सुन आपूर्तिकर्तालाई भुक्तानी गरिएको र नेपालमा तस्करीबाट प्राप्त नगद बैंक खातामा जम्मा गरिएको विवरण प्रस्तुत गरिएको छ।

प्रतिवेदनले यी दुई प्लेटफर्ममार्फत १२३ देखि १२४ अर्ब रुपैयाँसम्मका अनधिकृत कारोबार भएको उल्लेख गरेको छ। त्यसमध्ये करिब ९० प्रतिशत अवैध सुनसँग सम्बन्धित रहेको दाबी गरिएको छ। यो प्रतिवेदनमा उद्धृत अनुसन्धानको निष्कर्ष हो; यसलाई नेपालमा भएको हुण्डीको कुल कारोबारको आकार मान्न मिल्दैन।

त्यस्तै, हुण्डी सञ्जालले USDT जस्ता स्थिर मूल्यका भर्चुअल सम्पत्ति प्रयोग गरेर आफ्नो हिसाब मिलाउने प्रवृत्ति बढेको प्रतिवेदनमा उल्लेख छ। डिजिटल माध्यमबाट कारोबारको निर्देशन र समन्वय भए पनि अन्तिम भुक्तानी नगद वा परम्परागत व्यापारिक हिसाबबाट हुन सक्छ।

यसले हुण्डी नियन्त्रणका लागि परम्परागत बैंकिङ निगरानीसँगै डिजिटल कारोबार, भर्चुअल सम्पत्ति र सीमापार वित्तीय सञ्जालको अनुसन्धान आवश्यक बनाएको छ।

प्रतिबन्धित कारोबार, तर नियन्त्रणको चुनौती

नेपालमा हुण्डी कारोबार मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क अन्तर्गत निषेध गरिएको छ। विदेशी विनिमयसम्बन्धी कानुनले पनि नेपाल राष्ट्र बैंकबाट इजाजत नलिई विदेशी मुद्रा कारोबार गर्न रोक लगाएको छ।

२०२५ जनवरी २ मा हुण्डीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत सम्बद्ध कसूरका रूपमा सूचीकृत गरिएको थियो। त्यसपछि युनिटले goAML प्रणालीमा हुण्डीलाई छुट्टै सूचकका रूपमा राखेर प्रतिवेदन संकलन गर्न थालेको हो।

तर कानुनी प्रतिबन्ध र अनुसन्धानको संख्या बढे पनि हुण्डीको बदलिँदो स्वरूपले नियामक निकायलाई नयाँ चुनौती दिएको छ। बैंक खातामा रकम जम्मा गर्ने व्यक्ति, त्यसलाई स्थानान्तरण गर्ने एजेन्ट, विदेशमा रकम संकलन गर्ने सञ्चालक र अन्तिम लाभग्राहीबीचको सम्बन्ध पहिचान नगरी केवल नगद जफत गरेर अनुसन्धान टुंग्याउँदा ठूलो सञ्जालसम्म पुग्न कठिन हुन्छ।

प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थालाई ग्राहकको कारोबार नियमित निगरानी गर्न, वास्तविक लाभग्राही पहिचान गर्न, शंकास्पद खाताको नेटवर्क विश्लेषण गर्न र प्रतिवेदनको गुणस्तर सुधार गर्न सुझाव दिइएको छ। प्रहरीलाई पनि नगद जफतमा सीमित नभई मोबाइल उपकरणको डिजिटल फरेन्सिक, विदेशी वित्तीय जानकारी आदानप्रदान र नेटवर्कका सञ्चालक तथा लाभग्राहीसम्म अनुसन्धान विस्तार गर्न भनिएको छ।

हुण्डी नियन्त्रणका लागि औपचारिक रेमिट्यान्सलाई सस्तो, छिटो र सहज बनाउने, सीमावर्ती क्षेत्रमा नगद नियन्त्रण प्रभावकारी बनाउने तथा बैंक, प्रहरी, राजस्व अनुसन्धान र नियामक निकायबीच समन्वय बढाउने आवश्यकता प्रतिवेदनले औँल्याएको छ।