काठमाडौँ । स्पेनमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनपूर्वका सर्वेक्षणले विपक्षी पिपुल्स पार्टी (पीपी) सबैभन्दा अगाडि देखिएको छ । उसले दक्षिणपन्थी दल भोक्ससँग गठबन्धन गरेर सरकार बनाउन सक्ने अनुमान गरिएको छ ।
स्पेनको संसद्को तल्लो सदनमा ३५० सिट छन् । बहुमतका लागि १७६ सिट आवश्यक पर्छ । नोभेम्बर २७ सम्मका सर्वेक्षणअनुसार पीपीले १३१ र भोक्सले ६३ सिट जित्ने अनुमान छ । दुवै दलको सम्भावित सिट जोड्दा १९४ पुग्छ । प्रधानमन्त्री पेड्रो सान्चेजको समाजवादी पार्टीले भने ११९ सिट पाउने अनुमान गरिएको छ ।
यदि दक्षिणपन्थी गठबन्धन सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको शासन अन्त्य भएयता पहिलोपटक सत्तामा आउन सक्ने देखिएको हो । दक्षिणपन्थी गठबन्धनले बहुमत हासिल गरेमा पीपीका नेता अल्बेर्तो नुनेज फेइखू प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ भने भोक्सका नेता सान्तियागो आबास्कालले महत्त्वपूर्ण भूमिका पाउन सक्ने बताइएको छ ।
निर्वाचनमा घरको मूल्य र भाडा वृद्धि, आवास अभाव, आप्रवासन र अर्थतन्त्र प्रमुख मुद्दा बनेका छन् । प्रधानमन्त्री सान्चेजको सरकारले आगामी वर्षमा एक लाख सस्तो सरकारी आवास निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । पीपीले १० लाख नयाँ घर बनाउने वाचा गरेको छ भने भोक्सले स्पेनी नागरिकलाई आवासमा प्राथमिकता दिने नीति अघि सारेको छ ।
वर्तमान प्रधानमन्त्री सान्चेजलाई भ्रष्टाचारका आरोपले पनि दबाबमा पारेको छ । उनकी पत्नी बेगोना गोमेज र भाइ डेभिड सान्चेजमाथि विभिन्न अनियमितताका आरोप लागेका छन् । विपक्षी दलहरूले यी विषयलाई सरकारविरुद्धको प्रमुख मुद्दा बनाउँदै आएका छन् ।
सन् २०२३ को निर्वाचनपछि स्पष्ट बहुमत नपाएका सान्चेजले कातालोनियाका पृथकतावादी दलसहित साना दलको समर्थनमा सरकार बनाएका थिए । पृथकतावादी नेताहरूलाई आममाफी दिने उनको निर्णयले दक्षिणपन्थी दल र आफ्नै समर्थकको एउटा हिस्सासमेत असन्तुष्ट बनेको थियो ।