• २०८३ असोज १८
  • 2026 October 04, Sunday

रविन्द्र मिश्रले भने – पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन

काठमाडाैं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले आफू राजनीतिबाट नबाहिरिएको बताएका छन् । आइतबार फेसबुकमार्फत् उनले आफूले पार्टीको नेतृत्वबाट राजीनामा दिए पनि राजनीतिबाट भने नदिएको स्पष्ट पारेका हुन् ।

‘मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ,’ उनले लेखेका छन्, ‘स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन ।’

उनले आफू पार्टीको साधारण सदस्य रहिरहने बताएका छन् ।

फेसबुकमा उनले लेखेका छन्,‘पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ । पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु । म साधारण सदस्य रहने नै छु, राजनीतिको मेरो एउटै मात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो । ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन ।’