• २०८३ साउन २५
  • 2026 August 10, Monday

चुनदेवीबाट सानेपा जान देउवालाई २ ग्रुपको स्कर्टिङ, पेट्रोल र खाजाको व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोलि पार्टी कार्यालय सानेपामा स्कर्टिङसहित जाने भएका छन्। स्कर्टिङमा सहभागी कार्यकर्ताका लागि पेट्रोल र खाजा खर्चको व्यवस्था गरिएको कांग्रेस निकट स्रोतले जनाएको छ।

देउवा अहिले  काठमाडौंको चुनदेवी क्षेत्रमा रहेका छन्। भोलि उनी पार्टीका नियमित कार्यक्रमका लागि सानेपास्थित पार्टी कार्यालय पुग्ने तय भएको हो। त्यसक्रममा तरुण दलका कार्यकर्ता, स्थानीय नेताकार्यकर्ता र शुभराम बस्नेतसहितको टोली स्कर्टिङमा सहभागी हुने तयारीमा रहेको बताइएको छ।

स्रोतका अनुसार स्कर्टिङमा सहभागी हुने कार्यकर्तालाई यातायात (पेट्रोल) र खाजा खर्चका लागि व्यवस्थापन गरिएको छ। कार्यकर्ताहरूलाई निर्धारित स्थानहरूबाट स्कर्टिङ गरी सानेपा पुर्‍याइने योजना बनाइएको छ।

पार्टी निकट नेताहरूका अनुसार स्कर्टिङलाई भव्य र प्रदर्शनमूलक बनाउने तयारी गरिएको छ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि सार्वजनिक रूपमा नदेखिएका देउवा मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुन लागेका हुन् ।