• २०८३ भदौ २०
  • 2026 September 05, Saturday

एमसीसीबारे एमसीए नेपाल : कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज छैनन्

काठमाडाैं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज नभएको एमसीए-नेपालले जनाएको छ ।

एमसीए-नेपालले बुधबार विज्ञप्ति जारी गरी एमसीसी–नेपाल कम्प्याक्ट सम्बन्धी गोप्य वा लुकाइएका दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने आशयकाे सञ्चार माध्यममा देखिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा एमसीए–नेपाल नेपाल सरकारको जिम्मेवारी निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यस सम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीए–नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुने उल्लेख पनि गरिएको छ ।

विज्ञप्तिमा भनिएकाे छ ‘एमसीए–नेपालले कुनै पनि दस्तावेज गोप्य रुपमा नराखी आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गर्दै आएको जानकारी गराउँदै यस्ता गलत सूचनामा विश्वास नगर्न र नगराउन अनुरोध गर्छौँ । कुनै पनि दस्तावेज प्राप्त गर्नका लागि कार्यालयमा सम्पर्क राखिएमा सूचनाको हक सम्बन्धी ऐन अन्तर्गत दस्तावेजहरू उपलब्ध गराइने जानकारी पनि गराइन्छ ।’