• २०८३ भदौ १९
  • 2026 September 04, Friday

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ खुला, कति दिने आवेदन ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) खुलेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गर्ने साधारण सेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र जारी पुँजी २६ करोडको ०.२ प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आजदेखि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको पुँजीको संरचनामा अधिकृत पुँजी ५० करोड र हालको जारी पुँजी २६ करोड तथा चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ छ ।

विवरण पत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण सेयरको बाँडफाँट पश्चात कम्पनीको चुक्ता पुँजी २६ करोड पुग्नेछ ।