• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

संखुवासभा दुर्घटनामा ज्यान गुमाउने र घाइते सबैको सनाखत

काठमाडौं । संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै पहिचान खुलेकाे छ ।

मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की ३० वर्षीया सीता विक, मादी–६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी पाँच वर्षीया दीक्षा कटुवाल, मादी–५ का ४८ वर्षीय दीपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानीप्रसाद दाहाल रहेकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

त्यसैगरी, मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता कार्की, सहचालक उमेश भट्टराई, तेह्रथुमको ‌औँशीडाँडाका सवारी चालक बिपीन निरौला र मादी–४ का ६० वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनीहरु १४ जनाकाे घटनास्थलमै मृत्यु भएको  हाे ।

यस्तै, दुर्घटनामा घाइते डम्बरबहादुर कार्की, करिष्मा तामाङ, तुलसा कटुवाल, सुवास तामाङ र युवा पोख्रेललाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरान लगिएको छ ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको हो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । तीव्रगतिका कारण बस दुर्घटना भएको हाे ।

सबै १४ मृतकलाई पोस्टमार्टमका लागि सदरमुकाममा रहेकाे चैनपुर अस्पताल लगिएको पनि प्रहरीले जनाएकाे छ ।