• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

प्रधानमन्त्री देउवा र भीम रावलकाे जुहारी : दुई जिब्रे र दिमाग खुस्किएको भनेपछि रावलले फर्काए यस्ताे जवाफ

काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाफ फर्काएका छन् । प्रधानमन्त्री देउवाले एमसीसीलाई लिएर अनावश्यक विरोध गरेको भनी सोमबार नुवाकोटमा पुगेर भीम रावलकाे दिमाग खुस्किएको बताएका थिए ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको सोमबार उद्घाटन गर्न पुगेका देउवाले दोहोरो चरित्र देखाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

देउवाले आक्रोशित मुद्रामा भनेका थिए ‘यदि एमसीसी खराब थियो भने उनले राजीनामा दिनुपर्थ्यो । अहिले आएर यस्तो दुई जिब्रे कुरा गर्न पाइन्छ ?’

रक्षामन्त्री हुँदा संसदमा ल्याउन सघाएर आफूले पास गराउँदा विरोध गरिरहेको भन्दै देउवाले आपत्ति पनि जनाए ।

देउवाकाे उक्त आराेपपछि रावलले जवाफ फर्काएका हुन् । उनले देउवाले तथ्यमा आधारित भएर नबोलेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीले सही तथ्य नबुझी बोलेको भन्दै प्रधानमन्त्रीकै दिमाग खुस्किएको बताएका छन् ।

‘यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुटो बोल्ने प्रधानमन्त्रीको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ । जनतामा भ्रम छरेर देश हितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ’, उनले भनेका छन्,’मैलै एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानलाई तथ्यगत रूपमा सार्वजनिक गरेकोप्रति आक्रोशित हुँदै देउवाले ‘किन रावललाई मात्र टाउको दुख्छ’ भन्ने प्रश्न गर्नुभएको रहेछ ।’

रावलले आफूले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने पनि बताएका छन् ।

‘नेपालको संविधान, देश र जनतासामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाबीच सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईँको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर ‘टाउको दुखेको’ हो ।’