• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

देशले के दियोभन्दा पनि के दिन सक्छौँ भन्ने भावना जागृत हुनुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका अवसरमा बुधबार तनहुँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गरे । जनप्रतिनिधि सुविधाभोगी हुन नहुने भन्दै वरिष्ठ नेता पौडेलले भने, ‘मैले कति सुविधा पाउँछु, मेरो कति उन्नति हुन्छ भन्ने सोच त्याग्नुपर्छ, देशको हितलाई मात्रै ध्यानमा राख्नुपर्छ ।’ उनले आफ्ना लागि मात्र सोच्न थालियो भने व्यवस्था बर्बादीमा जाने जिकिर गरे ।

उच्चस्तरीय राजनीति संयन्त्रका संयोजक समेत रहेका नेता पौडेलले राष्ट्रको स्वतन्त्रता र लोकतन्त्र बचाउने अहिलेको मुख्य आवश्यकता औँल्याए । सुन्दर सहर, सुखी जनता बनाउने अभियानका साथ चिन्तन गर्नुपर्ने जनाउँदै उनले विगतमा के गरियो भन्दा पनि अब के गर्ने हो त्यसतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिए । राजनीति र विकासलाई सँगै अगाडि बढाउनुपर्ने जनाउँदैे गाउँमै जनतालाई बसुँ बसुँ बनाउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले तनहुँको विकासमा वरिष्ठ नेता पौडेलको भूमिकालाई बिर्सन नमिल्ने बताए । उनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

प्रदेशसभा सदस्य सरिता गुरुङले स्थानीय तहमा भएका विकास निर्माणका कामलाई जनताले मूल्याङ्कन गर्ने बेला आएको उल्लेख गरीन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विकासमा व्यासले थुप्रै काम गरेको बताउँदै अहिलेको जनप्रतिनिधिको कामलाई आगामी जनप्रतिनिधिले पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोख्रेलले स्रोत बढाउनेतर्फ ध्यान दिन आग्रह गरे । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपाने, प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, पूर्वजनप्रतिनिधि रामचन्द्र बस्नेतलगायतले जनप्रतिनिधि उत्तरदायी हुनुपर्नेमा जोड दिए । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले पाँच वर्षको अवधिमा जनताको माग र आवश्यकतालाई ध्यानमा राखी काम गरिएको बताए ।
–––