• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सम्पत्ति शुद्धीकरण मुद्दामा सोनियामाथि बुधबार तेस्रो पटक सोधपुछ

नयाँ दिल्ली । सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कंग्रेस अध्यक्ष सोनिया गान्धी बुधबार तेस्रो पटक प्रवर्तन निर्देशनालयमा उपस्थित हुने भएकी छिन् ।

नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदैछिन् ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेसले विरोध गरेको छ । सोधपुछपछि राहुल गान्धीको नेतृत्वमा कंग्रेस सांसदहरूले मंगलबार विरोध प्रदर्शन गरेका थिए ।

विपक्षी नेताहरूलाई निशाना बनाउने केन्द्रीय एजेन्सीहरूको कथित दुरुपयोग गरेको आरोप लगाउँदै त्यसको विरोधमा संसद भवनबाट राष्ट्रपति भवनसम्म कांग्रेस सांसदहरूले मार्च गरेका थिए। मार्चको नेतृत्व गरेका कंग्रेस नेता राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि सोही मुद्दामा राहुल गान्धी विभिन्न चरणमा इडीमा उपस्थित भएका थिए ।