• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

जुम्ला सडक खण्डमा पहिरो पन्छाउँदै सुरक्षानिकाय र स्थानीय सरकार

  • २०७९ असोज २८, शुक्रबार ०९:११

जुम्ला  । असोज २९ गतेबाट परेको अविरल वर्षाका कारण जुम्ला अहिले क्षतिग्रस्त छ।

जुम्ला सडक खण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ। बाढी र पहिरोले जुम्ला–कालिकोट खण्डको कर्णाली राजमार्ग पूरै अवरुद्ध हुँदा एक हप्तादेखि आवागमन ठप्प छ। त्यस्तै कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीय आवागमन पूर्ण बन्द भएपछि यहाँको दैनिकी कष्टकर बनेको छ।

पहिरो गएको स्थलमा जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र स्थानीय सरकार सहितको टोली तीव्रगतिमा लागेको छ।

त्यस्तै नन्दबक्स गणका गणपति रविन थापाका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा ३ किलोमिटर खण्डमा पहिरो गएको छ। त्यहाँ राजमार्ग अवरुद्ध भएको छ। त्यस क्षेत्रमा सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम भइरहेको छ।
त्यो क्षेत्रमा सशस्त्र प्रहरीका एसपी चित्रङ्गगत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्द सहितका सुरक्षानिकाय प्रमुख खटिएका छन्।

‘त्यस्तै कर्णाली राजमार्गको रारालिहीमा ३ वटा स्काभेटरले लगातार काम गरिरहेका छन्। यसका साथै ब्रेकरले समेत काम गरे पनि ठूलो ढुंगा खसेकाले ब्लाष्टिङ गर्नुपर्ने अवस्था भएको छ’, नन्दबक्सका गणपति थापा भने।

सेना सहित सुरक्षानिकाय प्रमुखहरू राजमार्गमा खटिएका छन्। ब्लाष्टिङ गर्नका लागि माथिल्लो निकायसँग अनुमति मागिएको छ। यो काम अझै २, ३ दिन लाग्ने सुरक्षानिकायले जनाएको छ।

त्यस्तै नाग्म–गमगढी राजमार्गको ८, १० ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ। हिमा गाउँपालिका नाग्म–गमगढी राजमार्गका भूगोलपाटा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्यलिहीमा पहिरो आएको छ। त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सञ्चालन गर्न काम शुरु गरिएको छ।

  • २०७९ असोज २८, शुक्रबार ०९:११