• २०८३ साउन २५
  • 2026 August 10, Monday

रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेशप्रति गगन थापा र विश्वप्रकाश शर्माको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् ।

‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ, थापाले भनेका छन्, ‘यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माको भनाइप्रति समर्थन जनाएर ट्वीट गर्दै थापाले यो शर्मा र आफ्नो मात्र नभई पार्टीकै धारणा भएको बताएका छन् । शर्माले अध्यादेशलाई गलत भन्दै अध्यादेश ल्याउनुमा कानुनी र राजनीतिक प्रश्न मात्र नभई यो प्रकरणमा नैतिक प्रश्नसमेत जोडिएको बताएका थिए ।

त्यसमा समर्थन जनाउँदै थापाले अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अघि बढाउन सक्छ ।’

आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतलाई जेलबाट छुटाउनका लागि मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेकाे थियो ।