• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

रुपा गौतम हत्याकान्डको निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षण पत्र

  • २०७९ पुस १८, सोमबार १३:३१

बागलुङ। रुपा गौतम हत्याकान्डको निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्री रबि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।

सोमबार आम युवा तथा सम्पूर्ण न्यायप्रेमी जनताहरुका तर्फबाट गृहमन्त्री लामिछानेलाई ध्यानाकार्षण पत्र बुझाइएको हो।

पत्र बुझ्दै मन्त्री लामिछानेले तत्कालै सम्बन्धित अधिकारीलाई छानविन गर्न निर्देशनात्मक आदेश समेत दिएको अभियन्ता सोम शर्माले जानकारी दिए।

२०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै गौतमको हत्या भएको थियो। हत्या भएको ६ वर्ष बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन।

काठेखोला गाउँपालिका–६ मा व्यवसाय गरी बस्ने ३६ वर्षीय गौतमको धारिलो हतियार प्रयोग गरी विभत्स ढंगले हत्या गरिएको थियो। हत्यास्थल बागलुङ नगरपालिका–३ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्छ। गौतम हत्या प्रकरणमा रहस्यको पर्दा अझै उघ्रेको छैन। घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेसमेत अनुसन्धान गरिसकेको छ। हत्यालगत्तै प्रहरीले अनुसन्धान थालेपनि पीडितपक्षले अझै न्याय पाउन सकेको छैन।

वर्षौँसम्म पनि दोषी भेटाउन नसकेकामा अधिकारकर्मी र नागरिक समुदायबाट बेलाबेला प्रहरीको आलोचना हुने गरेको छ।

  • २०७९ पुस १८, सोमबार १३:३१