• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

राष्ट्रिय सहमतिको सरकारको प्रयत्न गर्नुपर्नेमा पौडेलको जोड

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्नुपर्ने बताएका छन् ।

आज आयोजित एक कार्यक्रममा उनले मुलुक राजनीतिक, आर्थिक र मानवीय समस्याले घेरिएको भन्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक पर्ने बताए ।

‘एकातिर अर्थतन्त्र दर्दनाक अवस्थामा छ । विश्वको मन्दी यहाँ घुम्दै आएको छ । अर्कोतिर चीनबाट उत्पन्न भएको कोरोना फेरि घुम्दैघुम्दै नेपाल आउँदैछ भनिएको छ ।

केही समय मुलुकका सबै राजनीतिक शक्ति मिलेर पटक पटकको राजनीतिक क्रान्तिबाट प्राप्त परिवर्तन र संविधानको रक्षा गर्नुपर्ने पौडेलले बताए । ‘म यहाँ बाहिर भएर भनिरहेको छैन, तपाईंहरु विचार गर्नुहोला । म जहाँ भएर भने पनि म एउटा नेपाली भएर भनिरहेको छु’ उनले भने, ‘अहिले पनि राष्ट्रिय सहमतिको सरकारको प्रयत्न गर्नुपर्छ ।’

संविधान जारी भएपछि राजनीतिक स्थायित्वको आशा गरे पनि प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा स्थायित्व हुन नसकेको भन्दै पौडेलले अहिले पनि मुलुक अस्थिरतातिर जान लागेको बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा राजनीतिक स्थिरताकै लागि आन्दोलन गरेको भन्दै वरिष्ठ नेता पौडेलले स्थायित्व दिने पटक पटकको प्रयास विफल भएको बताए ।