• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

पोखरा विमान दुर्घटनामा परेकाको आज पनि खोजी हुँदै, ३८ शवको सनाखत

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव अस्पतालमा पुर्‍याइएको छ।

सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्‍याएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।भेटिएका शवको पहिचान गरी गण्डकी अस्पतालमा पुर्‍याइएको हो।

अस्‍पतालमै शवको सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर खड्काले बताए।

उनका अनुसार अहिलेसम्म ३८ जनाको सनाखत भएको छ। अन्यको पनि सनाखत गर्ने काम भइरहेको छ। परिवारलाई अस्पतालमा बोलाएर सनाखतको काम भइरहेको हो।

करिब २ सय जना नेपाली सेना, एक सय बढी सशस्त्र प्रहरी र प्रहरी घटनास्थलमा खटिएका छन्।

क्रेन, डोरी लगायतको प्रयोग गरी बेपत्ता रहेका चार जनाको खोजी गरिरहेको छ।