• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

बैंक तथा वित्तीय संस्थाविरुद्ध विभिन्न ३५ संघ/संस्थाहरुकाे संयुक्त आन्दाेलन

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न ३५ संघ/संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बैंकिङ व्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्नेलगायतका माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् ।

अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, निजी स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनु रहेको उनीहरुले बताएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभए तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाले चर्को रुपमा व्याजदर बढाउँदा र लिलामी निकाल्दा पनि सरकार मौन बसेको आरोप लगाए ।

उनले बैंक तथा वित्तीय संस्थाबाट व्यसायीलाई अत्याउने र धम्क्याउने काम भएको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो अवस्थामा बैंकहरु फाइदामा लगानीकर्ता घाटामा भएको बताए ।