• २०८३ साउन २८
  • 2026 August 13, Thursday

फागुन २ देखि अनेरास्ववियुको महाधिवेशन

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं महाधिवेशन यही फागुन २ गतेदेखि हुने भएको छ।

फागुन २ देखि ४ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन चल्नेछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आइतबार पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइन्।

उनकाअनुसार महाधिवेशनबाट सर्वसम्मतरूपमा नेतृत्व चयनका लागि प्रयास गरिनेछ। सहमति हुन नसकेमा निर्वाचनबाट नेतृत्व चयन गरिने उनले बताइन्।

महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउनेछ। अनुशासन, लेखा र निर्वाचन गरी ३ वटा आयोग पनि महाधिवेशनले चयन गर्नेछ। यी आयोग १५ सदस्यीय हुनेछन्। महाधिवेशनमा एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि उपस्थित हुनेछन्।