• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आक्रमणको प्रयास भएको छ।

सोमबार कार्यक्रममा सहभागी हुन ओखलढुंगा पुगेका मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीले आक्रमण प्रयास गरेका हुन्।

स्थानीयबासीका अनुसार सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले अवरोध गरेका थिए।

सिद्धिचरण नगरको वडा नम्बर १ तिर कडा सुरक्षासहितको गाडीमा जाँदै गरेका बेला आन्दोलनकारीले रोकेका थिए। त्यसक्रममा उनीहरुले मुख्यमन्त्री चढेको गाडीमा आक्रमण प्रयास गरेका थिए। तर प्रहरीले उनीहरुको प्रयास विफल बनाएको थियो।

कालोझन्डासहित उपस्थित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा लगाइएको राष्ट्रिय झन्डा थुतेका थिए।

फागुन १७ मा प्रदेशको नाम कोशी राखिएपछि लिम्बूवान, खम्बुवान, किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङसहितका संगठनहरु संयुक्त संघर्षमा छन्।