• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

रास्वपा सांसदले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसदमा हंगामा

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा १५ वटा मुर्रा प्रजातिका राँगा भारतले दिएको विषयले आजको संसद बैठकमा हंगामा भएको छ।

सुरूमै संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १५ राँगा भारतले दिने कुरा सात वर्षअघि नै उठेको उल्लेख गर्दै अहिले आफूलाई मानिसहरूले भैंसीमा चढाएको देखिएको बताएका थिए।

प्रधानमन्त्रीलाई प्रतिप्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पोखरा विमानस्थलमा उत्रिनुहुन्छ होला भन्ने आफूहरूको अपेक्षा भए पनि भैंसी चढेर आएको भन्ने कुरा सुन्नु परेको बताएका थिए।

खनालले त्यति भनिसक्दा नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए।

त्यसपछि सत्ता र प्रतिपक्षका सांसदले हो-हल्ला गरेका थिए।

विवाद बढ्दै गएपछि सभामुख देवराज घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

एमाले सांसद रघुजी पन्त र रास्वपा सांसद रवि लामिछानेले भैंसी चढेर आएको शब्द प्रधानमन्त्रीले नै पहिला बोलेकाले त्यसलाई हटाउनु पर्ने माग गरेका थिए।

त्यसपछि सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोले पनि संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।