• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सात जिल्लामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम प्रदेशका सात जिल्लामा आसपास भएर बहने नदीमा बाढीको जोखिम रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार अछाम, डोटी, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा, दार्चुला र आसपास भइ बहने केही स-साना नदीहरूको बहाब बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ।

पानीको सतह बढ्ने र बाढीको जोखिम रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै सिन्धुपाल्चोक, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्वत, गोरखा, लमजुङ, तनहुँ, म्याग्दी, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, जाजरकोट, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही स-साना नदीहरूको बहाब सामान्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।

सुदूरपश्चिम परदेशमा आज दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति उक्त प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्न सक्नेछ।