• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

थारु समुदायको माघी महोत्सव टुँडिखेलमा आयोजना हुने

काठमाडौं । थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव,मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले बताए ।

‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौ । थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौ,’ चौधरीले भने ।

चौधरीका अनुसार माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । यसवर्ष ‘थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारा तय गरिएको चौधरीले जानकारी गराए ।

उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।

२० भन्दा थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा थारु खानपिन-परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने छ ।

पर्वको प्रचार प्रसार गर्ने उद्देश्यका साथ पुस २८ गते शनिबार बिहान ७ बजे मोटरसाईकल र्याली तीनकुनेबाट सुरु गरेर भृकुटीमण्डपमा समापन गर्ने तयारी आयोजकको छ । माघ १ गते बिहान १० बजे थारु संस्कृति,भेष भूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानरसहित न्यूरोड, बसन्तपुरमा जम्मा भई झाँकी र्याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडीखेलमा सरिक चौधरीले उल्लेख गरे ।

उनका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम सञ्चालन गरिने छ ।

महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाईमुरी, भुजा, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलारलगायतका विभिन्न परिकार रहनेछन् । साथै, हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री बितरणमा थारु हस्तकला तथा थारु जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्र पत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ ।

महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने बताए ।