• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

फर्जी कागज बनाएर विद्यालय व्यवस्थापन समिति गठन !

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ मा रहेको गणेश माध्यमिक विद्यालयमा किर्ते कागज र हस्तारक्षरको दुरुपयोग विद्यालय व्यवस्थापन समिति गठन गरिएको पाइएको छ । स्थानीय अगुवाहरुले जनप्रतिनिधिहरु नै किर्ते काममा लागेको आरोप लगाएका छन् ।

हस्ताक्षरको दूरुपयोग गरी माइन्युट नै तयार पारी विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि छनोट जस्तो गम्भीर विषय प्रस्तावमा नराखी, समितिमा कुनै छलफल नै नगराई जालसाझीपूर्ण तरिकाले व्यवस्थापन समिति गठन गरिएको भन्दै वडा सदस्य राम विनोद लामिछाने, राजकाजी श्रेष्ठ, पार्वती श्रेष्ठ र सीता सुनारले सत्यतथ्य छानबिन गरि दोषीमाथि कारबाहीको माग राख्दै नगरपालिकामा उजुरी दिएका छन् ।

‘बूढानीलकण्ठ नगरपालिका वडा नं २ को वडा समितिको मिति २०८० – ०२-२२ को माइन्यूट (निर्णय पत्र) को बारेमा हामी निवेदक वडा सदस्यहरुले अन्य प्रस्तावको लागि अध्यक्षज्यूबाट बैठक आह्वान भएअनुसार सो मितिमा बैठक बसी अन्य प्रस्तावमा छलफल भएकोमा सो दिनको माइन्यूटको पहिलो पाना सहि भएको, दोस्रो, तेस्रो र चौथो गलत भएको साथै हामी निवेदकहरुको हस्ताक्षर निर्णय नगरेकोमा हामीहरूको हस्ताक्षर दूरुपयोग गरी माइन्युट तयार गरिएको हो । विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि छनोट जस्तो गम्भीर विषय प्रस्तावमा नराखी समितिमा कुनै छलफल नै नगराई जालसाझीपूर्ण तरिकाले विविध प्रस्तावमा राखी गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिमा वडा समितिको मिति २०८०-०२- २२ को निर्णय बमोजिम प्रतिनिधि छनोट गरियो’ निवेदनमा लेखिएको छ । फर्जी निर्णय र किर्ते हस्ताक्षर गरि विद्यालय व्यवस्थापन समिति गठन गरियो भन्ने सुन्नमा आएको हुँदा सो सम्बन्धमा हामी निवेदक वडा सदस्यहरुको गम्भीर ध्यानाकर्षण भएको हुँदा सो मिति २०८०-०२-२२ को माइन्युट (निर्णय पत्र) जालसाही किर्ते छानविन गरी किर्ते गर्नेमाथि हदैसम्मको कारवाही गरी पाउँ ।’

उनीहरुले विद्यालयको व्यवस्थापन समिति गठन विधि र कानून सम्मत ढंगले गर्न समेत माग गरेका छन् ।