• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

राष्ट्रिय सभाका १९ नयाँ सदस्यले उपाध्यक्षबाट लिए शपथ

काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् ।

आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले १९ जना नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

शपथ लिनेहरुमा कृष्णप्रसाद सिटौला, रुक्मिणी कोइराला, मनरुपा शर्मा, पूजा चौधरी, विष्णुकुमारी सापकोटा, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, विष्णुबहादुर विश्वकर्मा, जीतजङ्ग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, नारायणदत्त भट्ट, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, कृष्णबहादुर रोकाय, रेनु चन्द र बलदेव बोहरा रहेका छन् ।

राष्ट्रिय सभामा रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट चुनिएर सभामा आएका हुन् । अब एक जना सदस्य मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्न बाँकी छन् ।

राष्ट्रिय सभाको अध्यक्षमा वर्तमान सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र सत्ता नेतृत्व गरिरहेको माओवादीबीच असहमति बढेपछि आज गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र रास्वपालाई साथ लिएर नयाँ गठबन्धको मोडल तयार गर्न अहिले बालुवाटारमा तीन दलका शीर्ष नेताबीच घनिभूत छलफल गरिरहेका छन् ।

यो सँगै नयाँ बन्ने सत्ता गठबन्धनको प्रभाव अबको राष्ट्रिय सभाका अध्यक्षको चयनमा पर्ने देखिएको छ ।