• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

लगानीका लागि नेपालको उदार नीतिले सहज व्यवस्था गरेको छ : देउवा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न राजनीतिक दलहरु एकजुट हुन प्रतिबद्ध रहेको बताएका छन् ।

नेपालमा विदेशी लगानीकर्ताका लागि प्राय  सबै क्षेत्र खुला रहेको बताएका उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

आइतबारबाट काठमाडौंमा सुुरु भएको तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सभापति देउवाले नेपालमा लगानीका लागि उदार नीतिले सहज व्यवस्था गरेको बताए । नेपालमा बढी भन्दा बढी लगानी भित्र्याउनका लागि सरकारसँगै राजनीतिक दलहरु पनि मुख्य विषय र मुद्दाहरुमा एकजुट भएर लाग्ने उनले बताए ।

‘सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुन प्रतिबद्ध छन्’ देउवाले भने ।

सबै क्षेत्रमा विदेशी लगानीकर्ताका लागि नेपाल खुला रहेको सन्देश दिएका देउवाले नीतिगत व्यवस्था पनि लगानीकर्ताका लागि उदार रहेको बताए ।

देउवाले भने, ‘विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार छ । विदेशी लगानीका लागि प्राय सबै क्षेत्र खुला छन् । कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, पर्यटन, जलविद्युत र सूचना प्रविधि जस्ता प्रमुख क्षेत्र हुन् जहाँ स्वदेशी तथा विदेशी लगानीले परिवर्तनकारी प्रभाव पार्नेछ ।’

नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न इच्छुक रहेको पनि देउवाले सुनाए ।

उनले सार्वजनिक निजी साझेदारी अन्तर्गतका ठूला परियोजनाहरू र अन्य साना तथा मझौला आकारका लगानीका आयोजनाहरूका लागि उद्योग विभाग अन्तर्गतको लगानी बोर्ड समावेश गरी सहजीकरण गर्ने उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न सरोकारवालालाई आग्रह गरे ।

लोकतान्त्रिक ढाँचा अन्तर्गत आर्थिक विकासलाई अगाडि बढाउन बजार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको अवस्थामा हामी उदार आर्थिक नीति अवलम्बन गर्ने सन्देश आफूले दिन चाहेको समेत बताए ।

आन्तरिक र बाह्य आर्थिक परिवेशमा आएको परिवर्तनलाई ध्यानमा राखी लगानीको व्यवस्था मिलाउन हामी सुसंगत र व्यवहारिक रूपमा सुधारको प्रयास जारी राख्छौ । विदेशी लगानीकर्ताहरूप्रति भेदभावपूर्ण नीति अवलम्बन गर्दैनौं। उनीहरूलाई राष्ट्रिय लगानीकर्तासँग समान व्यवहार गरिन्छ । हामी विदेशी लगानीकर्ताहरूलाई हाम्रो मूल्यवान अतिथिको रूपमा स्वागत गर्दछौं,’ देउवाले सम्बोधनमा भने ।

नेपालमा वैदेशिक लगानी नाफामुखी छ भन्ने प्रमाणित गर्न भरपर्दो उदाहरणहरु रहेको बताएका उनले सबैलाई लगानी गर्न आह्वान गर्दै लगानीकर्ताका लागि पूर्ण सुरक्षा प्रदान गर्दै सुरुदेखि अन्त्यसम्म निरन्तर सहयोग गर्ने आश्वासन दिए ।