• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

नेकपा एसले सार्यो पूर्वनिर्धारित स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पूर्वनिर्धारित स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सारेको छ।नेकपा एसले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेकोमा आन्तरिक तयारी नपुगेको भन्दै आज पूर्वनिर्धारित सबै स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सारेको हो ।

अब एसको स्थायी कमिटी बैशाख २९ गते, पोलिट्ब्यूरो ३० गते तथा ३१ बैशाख र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने सचिवालयले जनाएको छ ।यसअघि बैठक क्रमशः बैशाख २६, २७ र २८, २९ गते तोकिएको थियो।महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको थियो ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गर्ने, स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गर्ने,महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी सम्बन्धमा छलफल लगायतका विविध एजेण्डा छन् ।

नेकपा एसले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा पहिलो राष्ट्रिय महाधिवेशन गर्न लागेको छ ।