• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

अल्पसंख्यक व्यक्तिहरु सडकमा उभिनुपर्ने वाध्यता अन्त्य गर्न माग

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त सुधार गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।मितिनी नेपालको सहयोगमा मायाको संसारले आइतबार आयोजना गरेको ‘लैङ्गिक, लैङ्गिकता, यौनिकता र नेपाल प्रहरीसँगको सम्बन्ध’ विषयक अन्तरक्रियामा समुदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त शंसोधन गर्नुपर्ने वक्ताहरुले धारणा राखेका हुन् ।

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी वसन्त रजौरे, अधिवक्ता सुजन पन्तले प्रहरी र समुदायका व्यक्तिहरुबिच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनीहरुले कतिपय कानुनी प्रावधानका कारण समुदायका व्यक्तिहरुले दुःख पाउने गरेको, अपहेलित हुनुपरेकाले अधिकार स्थापित गर्न कानुनी व्यवस्था गर्न दबाब बढाउनुपर्ने धारणा राखे । एसएसपी रजौरेले समुदायका व्यक्तिहरुले आफ्नो सोच परिवर्तन गरी सकरात्मक काममा लाग्न सुझाव दिए ।

सरकारले रोजगारीमा व्यवस्था नगर्दा, गरिखाने माध्यम नपाउँदा, समाज र परिवारले अपहेलना गर्दा समुदायका व्यक्तिहरु सडक किनारमा उभिएर ग्राहक खोज्नुपर्ने अवस्था सिर्जना भएकाले त्यसको अन्त्यका लागि बक्ताहरुले जोड दिए ।मायाको संसारकी अध्यक्ष सुनिता लामाले समुदायका व्यक्तिहरुमाथि लैङ्गिक हिंसा हुने गरेको र रात्रीकालिन व्यवसायमा जोखिम मोल्नुपरेको बताइन । उनले समुदायको हक, अधिकारका लागि सबै तहले वकालत गरेर सहजीकरण गरिदिन आग्रह गरिन । उनले सरकारले समुदायका व्यक्तिहरुलाई रोजगारी र आत्मनिर्भर बनाउन पहल गर्न अनुरोध गरिन ।
‘हामीलाई सोच परिवर्तन गर्न, पेशा परिवर्तन गर्न सुझाव दिनुहुन्छ तर राज्यको नीति र कानुन परिवर्तन गर्न दबाब कसैले दिंदैन । निर्वाध रुपले, हिंसा र अपहेलनामुक्त रुपले बाँच्नका लागि र यौनकर्मी श्रमिकहरुको अधिकार स्थापनाका लागि बोल्न किन अफ्ठ्यारो भइरहेको छ ?’, अध्यक्ष लामाको प्रश्न थियो ।

कार्यक्रममा संस्थाका बारेमा सुदिप कुमार थिङले जानकारी गराए भने मानव अधिकार आयोगकी बर्षा कुमारी झाले समुदायका व्यक्तिहरुको न्यूनतम मानव अधिकारका बारेमा जानकारी गराइन ।कार्यक्रममा प्रहरी वृत्त महाराजगञ्ज डिएसपी अमरबहादुर थापा क्षेत्री, दरबारमार्गका डिएसपी गोविन्द थापाको सहभागिता थियो । आयोजक संस्था मायाको संसारले यौनकर्मी श्रमिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको हक अधिकारका लागि काम गर्दै आइरहेको छ ।