• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

बजेट सन्तुलित छ :अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आर्थिक वर्षको बजेट सन्तुलित किसिमको आएको बताएका छन् ।विहीबार काठमाडौंमा आयोजित बजेटमा समावेश भएका विषयहरूमाथिको अन्तरक्रियामा उनले बजेटमा आर्थिक सुधार कार्यक्रम अघि बढाउन एक उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने घोषणा गरेको भन्दै बजेट सन्तुलनमा रहेको बताए ।

उनले भने, ‘बजेट सन्तुलित खालको आएको छ । बजेटले नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने र यसका लागि एक उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने घोषणा गरेको छ । यसलाइ सकारात्मक रुपमा लिएका छौं । आयोग गठन गरि यस कार्यलाई अघि बढाउन आग्रह गर्दछु ।’
यस्तै, उनले आर्थिक सुधार र रणनीतिमा पनि संरचनात्मक सुधार र व्यवसायिक वातावरण सुधारलाई प्राथमिकतामा राखिएको भन्दै सोही अनुरुप प्रभावकारी रुपमा कार्यान्वयनमा आउने विश्वास लिएको बताए ।

यसको साथै उनले बजेटमा कानुनहरु समयानुकुल परिमार्जन गर्ने प्रतिबद्धताका साथ बौद्धिक सम्पत्ती र उदारो कारोबार सम्बन्धी कानून ल्याउने व्यवस्था गरेको पनि बताए ।उनले भने, ‘बजेटले औद्योगिक व्यवसाय ऐन वस्तुको प्रत्यक्ष विक्री ऐन, श्रम ऐन, औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावलीमा समयानुकुल परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ । परिसंघले उठाउँदै आएको बौद्धिक सम्पत्ती र उदारो कारोबार सम्बन्धी कानून ल्याउनुपर्ने विषयमा बजेटले समेटेको छ । यसको स्वागत गर्दछौ र जति सक्दो छिटो कानुनमा सुधार गरि नयाँ कानुन ल्याउन आग्रह पनि गर्दछु ।’