• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

प्रिन्ट मिडिया संकटमा छन् भन्दैमा हात बाँधेर बस्न मिल्दैन : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालको प्रिन्ट मिडिया संकटमा रहेको बताएका छन् ।

आइतबार प्रेस काउन्सिल नेपाल र सञ्चारिका समूहको संयुक्त आयोजनामा ‘युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालको प्रिन्ट मिडिया संकटमा रहेको बताउँदै मिडिया हाउसको व्यवस्थापन र सम्पादकीय नेतृत्वले त्यही अनुसारको रणनीति अपनाउनुपर्ने बताए ।

उनले भने, ‘नेपाली पत्रकारितामा संक्रमणकाल छ । फेरि त्यो संक्रमण पनि हाम्रै हातमा छ । संकट र अवसर सँगै छन् । हामीले प्रिन्ट मिडियामा संकट छ भनेर हात बाँधेर बस्ने हो भने समस्या झन ग्रस्त हुँदै जान्छ । अब यस संकटलाई टार्नका लागि प्रिन्ट मिडियाका व्यवस्थापक र सम्पादकीय नेतृत्वले पनि त्यही अनुसारको रणनीति बनाएर अघि बढ्न आवश्यक छ । व्यवस्थापकीय रणनीति फेर्न जरुरी छ ।’

प्रविधिको आधुनिकीकरणसँगै मिडया हाउसहरुलाई आफूलाई परिमार्जन गर्दै लग्नुपर्नेमा उनको जोड थियो ।अध्यक्ष बस्नेतले युट्युबहितका न्यू मिडियाहरु समेत प्रेस काउन्सिलमा दर्ता गर्ने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै सबैले काउन्सिलको आचारसंहिता अवलम्बन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘मिडियाका कन्टेन्ट आउने युट्युबसहितका न्यू मिडियाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ । न्यू मिडियाहरु समेत प्रेस काउन्सिलमा दर्ता हुने प्रक्रिया बढिरहेको छ । त्यही भएर हामीले आचारसंहिता पालना गर्नु अति आवश्यक छ । हामी त फेसबुक हौं, युट्युब हौं भनेर जथाभावी गर्न पाइदैन । कुनै पनि मिडयालाई अहिले सामाजिक सञ्जाल नभई भएको छैन ।’