• २०८३ साउन २८
  • 2026 August 13, Thursday

काँकडभिट्टा नाका हुँदै आउन थाले बंगलादेशमा रहेका नेपाली

काठमाडौं । बंगलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना विद्यार्थी नेपाल आइपुगेका छन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार शनिवार १४१ जना, शुक्रवार ११४ जना र विहीवार ८५ जना नेपाली विद्यार्थीहरु स्वदेश फर्केका हुन् । आइतबार पनि केही नेपाली नेपाल भित्रिएका छन् ।

बंगलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरुले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरेर स्वदेश फर्किन थालेका हुन्।

ढाकास्थित नेपाली राजदूताबासले समेत ‘एडभाइजरी नोटिस’ जारी गर्दै नेपाली विद्यार्थीहरुलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको छ । कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूताबासमा जानकारी गराउन भनिएको छ ।

बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएका कारण वाट्स एप, मेसेन्जर लगायतका मोवाइल एप्लिकेसनबाट सम्पर्क गर्न समस्या भइरहेको बताइन्छ ।

बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौं र काँकडभिट्टा नाका हुँदै स्थलमार्गबाट नेपाल आउन थालेका हुन् । आइतबार हवाइमार्गबाट १७ विद्यार्थी नेपाल आइपुगेका छन् ।