• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

सातै प्रदेशमा मुटु रोगको उपचार विस्तार गर्ने निर्णय

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने घोषणा गरेको छ ।

केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो । अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ ।

बैठकमा बोल्दै मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरुमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजना अन्तर्गत क्यान्सर उपचार सुरु भैइसकेको भन्दै मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए ।मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा विशिष्टिकृत उपचार सेवा प्रादेशिक अस्पतालहरुमार्फत विस्तार गर्ने घोषणा गरेका थिए । मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए।