• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

किसानलाई चाँडै राहत उपलब्ध गराउन मन्त्रालय गम्भीरता पूर्वक लागेको छ :मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुलाई राहत दिने कुरामा मन्त्रालयमा गम्भीरता पूर्वक छलफल भइरहेको बताएका छन् ।

बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा हालैको बाढी पहिरोले कृषि क्षेत्रमा पुयाएको क्षतिका सम्बन्धमा भएको छलफलमा उनले किसानलाई राहत दिने मन्त्रालयमा छलफलको साथै यसको व्यवस्थापनका विषयमा दातृ संस्थाहरु सँग पनि अनुरोध गरेको बताए ।उनले भने, ‘हालको डाटा अनुसार अहिलेलाई अन्नबालीमा ६ अर्ब रुपैयाँ नोक्सानी भएको छ । तर आगामी दिनमा नोक्सानीमा पर्नु भएका किसानहरुलाई कुन तहको राहत दिन सक्छौ । कसरी दिन सकिन्छ यसतर्फ गम्भीरता पूर्वक सोचेका छौ । मन्त्रालयमा छलफल पनि भएको छ । यसको व्यवस्थापनका विषयमा दातृ संस्थाहरु सँग हामीले अनुरोध गरेका छौ ।’

उनले यस विषयमा समितिबाट जे निर्देशन भएपनि त्यसलाई पालना गर्न मन्त्रालय तयार रहेको बताए ।
यसको साथै, उनले किसानहरु एकदमै पीडामा परेको र के खाने र कसरी बस्ने भन्ने अवस्थामा पुगेको भन्दै यस विषयमा छिटोभन्दा छिटो काम अगाडि बढाउनु पर्ने पनि बताए ।उनले भने, ‘१२ गते हामीले टेलिफोनमा मात्र सम्पर्क गरेका थियौं । मन्त्रालय अन्तरगत देशभर रहेका सबै तहमा रहेका साथिहरुसँग टेलिफोनमा सम्पर्क भयो र १३ गते मात्र हामी बैठक बस्यौ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो नोक्सानी भएका व्यक्तिहरु जुन किसानहरु हुनुहन्छ । पीडामा परेर टेलिफोनमै रुनु पनि भएको छ । अब हामीले दशैँ कसरी मनाउने र अब के प्राप्त हुन्छ भन्ने खालको प्रश्न पनि आएको छ ।’