• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

धनुषाधाम नगरपालिकामा पुन : बर्थिङ सेन्टर तथा निःशुल्क एम्बुलेन्स सेवा संचालन

काठमाडौ । धनुषाधाम नगरपालिकाले पुन :बर्थिङ सेन्टर सञ्चालन तथा निःशुल्क एम्बुलेन्स सेवाको सुरुआत गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधाममा आयोजित एक कार्यक्रममा नगरपालिकाले सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नुका साथै बर्थिङ सेन्टरको पुनः सञ्चालनको घोषणा गरेको छ । नगर भित्रका गर्भवती महिलालाई सहजता प्रदान गर्ने लक्ष्यसहित उक्त सेवा सञ्चानमा ल्याइएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अरुण मण्डलले जानकारी दिए ।

त्यस्तै, धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मन्डलले नागरिकहरूको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिएको बताउँदै आगामी दिनमा थप स्वास्थ्य सुविधाहरू विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले विशेष गरी मातृ तथा शिशु स्वास्थ्यलाई सुरक्षित बनाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास र सेवाको सुलभ पहुँच अभिवृद्धि गर्न धनुषाधाम नगरपालिकाले विभिन्न योजनाहरू अघि बढाइरहेको छ ।कार्यक्रममा धनुषाधाम नगरपालिकाका उपमेयर विद्या देवी भुजेल, प्रमुख प्रशासकीय अधिकृत सञ्जित प्रसाद दास, वडा अध्यक्ष जयनारायण यादव, मनोज कुमार यादव, हेमनारायण यादव, कपिल बस्नेत, सुनिल कापर, स्वास्थ्य शाखा प्रमुख हरिनारायण महतो, महिला स्वयंसेविका तथा पालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।