• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

‘२५ करोड रकम तस्करी पछाडीको नाइकेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम तस्करी पछाडीको प्रमुख व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको भन्दै सरकार यस्ता तस्करहरुको नाइकेसम्म पुगेर उनीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।

उनले भने, ‘नेपाल सरकारले हिजो अवैध रुपमा सिन्धुपाल्चोकका कुसाङ लामा ड्राइभरले चलाएको एउटा ट्रकबाट २५ करोड नेपाली रुपैयाँ, युरो र डलर गरेर आएको अवैध रकम समात्न सफल भएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहान्छु । कहिले सुन तस्करीका रुपमा, कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियालाई समाउने जो धनी छ त्योसम्म नपुग्ने यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग पनि गर्न चाहान्छु ।

भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो अहिले पनि सरकार त्यसैगरि अन्तिमसम्म नपुगेर ड्राइभर र भरियालाई मात्र समाएर नाइकेलाई समाउन सफल भएन भने फेरि आँखामा छारो हाले जस्तो देखिन पुग्छ त्यसैले सरकार यस्ता तस्करहरुको नाइकेसम्म पुगोस, जुन तहको भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याओस भनेर अनुरोध गर्न चाहान्छु ।’यसको साथै, उनले जनतामा निरशा छाएको बेला सरकार तस्कर र भ्रष्टाचारीहरुलाई तह लगाउन तयार छ भन्ने सन्देश हिजोको कामले दिएको भन्दै सरकारलाई धन्यवाद पनि दिएका छन् ।