• २०८३ साउन २५
  • 2026 August 10, Monday

दैलेखको विद्यालय भवन निर्माणका लागि भारत सरकारको सहयोग, शिलान्यास सम्पन्न

काठमाडौं । दैलेखको दुल्लू नगरपालिकामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको बहुउद्देश्यीय भवन निर्माणका लागि भारत सरकारले आर्थिक सहयोग गरेको छ। उक्त भवनको शिलान्यास कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दुल्लू नगरपालिकाका मेयर भरत प्रसाद रिजालले संयुक्त रूपमा गरेका छन्।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत ३.९ करोड नेपाली रुपैयाँको लागतमा भवन निर्माण भइरहेको छ। यो भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) अन्तर्गत निर्माण हुन लागेको भारतीय राजदूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

साढे तीन तलाको यो भवनमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लू राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र र अन्य सुविधाहरू हुने बताइएको छ ।

 

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, दुल्लू नगरपालिकाका मेयर र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपाली जनताका लागि भारत सरकारले गरेको विकास सहयोगको प्रशंसा गरेका थिए। उनीहरूले यो भवनले विद्यार्थी र स्थानीय समुदायलाई दुल्लू राज्यको इतिहास र संस्कृति बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे। यसले शिक्षा र संस्कृति क्षेत्रको विकासमा पनि योगदान पुर्‍याउने उनीहरूको भनाइ थियो।

सन् २००३ देखि भारत सरकारले नेपालमा विभिन्न क्षेत्रमा ५६३ भन्दा बढी एचआइसीडीपीमा कार्य गरेको छ, जसमध्ये ४९५ वटा सम्पन्न भइसकेका छन्। कर्णाली प्रदेशमा १५ वटा परियोजना रहेका छन्। यसबाहेक, भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार दिएको छ, जसमा कर्णाली प्रदेशमा ५० वटा एम्बुलेन्स र ८ वटा स्कूल बस रहेको विज्ञप्तिमा उल्लेख छ ।

भारत र नेपालबीचको यो सहकार्यले नेपाली जनताको उत्थान र पूर्वाधार विकासमा भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।