• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

पत्रकार रजकको हत्याको विरोधमा हेटौंडामा प्रदर्शन

  • २०८१ चैत १६, शनिबार १५:२८

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा पत्रकार हत्याको विरोधमा शनिबार हेटौंडामा प्रदर्शन गरिएको छ ।
समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा देशैभरी जस्तै मकवानपुरका पत्रकारहरू पनि आन्दोलित भएका छन् ।

हेटौंडाको पल्पसासभागृहबाट सुरु भएको पत्रकारहरुको प्रदर्शन मकवानपुर उद्योग वाणिज्यसंघ, पिपलबोट, बुद्धचोक हुँदै स्कुरोडमा गएर सभामा परिणत भएको थियो।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो । उनको हत्याको विरोधमा आज नेपाल पत्रकार महासंघले हेटौंडामा पनि विरोध प्रदर्शन गरेको हो ।

आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष सरिता दाहाल, गैरसरकारी संस्था महासंघका आरती पाठक लगायतकाले पत्रकार हत्याको विरोध गर्दै दोषीलाई कारवाही माग गरेका छन् ।

  • २०८१ चैत १६, शनिबार १५:२८