• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने अभियान चलाइँदै

  • २०८२ वैशाख ४, बिहीबार ११:४६

काठमाडौँ । आगामी शनिबार र आइतबार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजनमा सञ्चालन हुने यस अभियानमा ६ महिना देखि ५९ महिना उमेर समूहका बालबालिका सहभागी हुनेछन्।स्वास्थ्य सेवा विभागका अनुसार सोही दिन १ वर्षदेखि ५ वर्ष उमेर समूहका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ। साथै, बालभिटा वितरण र कुपोषण परीक्षण समेत एकै साथ सञ्चालन गरिनेछ।

कार्यक्रम सफल बनाउन ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ।भिटामिन ‘ए’ को कमीबाट बालबालिकालाई जोगाउन सरकारले २०५० सालमा आठ जिल्लाबाट यो कार्यक्रम सुरु गरेको थियो भने २०५९ सालदेखि देशव्यापी रूपमा लागू गरिएको हो। त्यस्तै, जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालमा १३ जिल्लाबाट सुरु भई २०६७ सालदेखि सबै जिल्लामा विस्तार गरिएको हो। २०६४ सालदेखि बालभिटा कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ।सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ।

  • २०८२ वैशाख ४, बिहीबार ११:४६