• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

२५ करोडको प्रकरण : मालिक फरार, चालकलाई जेल पठाइयो

काठमाडौं । काठमाडौंको टोखा–झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र युरो बरामदसहित पक्राउ परेका ट्रक चालकलाई कारागार चलान गरिएको छ।

सिन्धुपाल्चोकका फुच्चे भनिने कुसाङ लामा नामका ट्रक चालकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दिएको हो।यससँगै लामा न्यायिक हिरासतमा पठाइएका छन्। सो प्रकरणमा संलग्न भनिएका मुख्य व्यक्ति नारायण पौडेल भने फरार रहेका छन्। पौडेल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई हाल टोखा नगरपालिका–१० मा बसोबास गर्दै आएका थिए।

पौडेललाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ। दुबै जनाविरुद्ध विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसार मुद्दा दर्ता गरिएको छ।उनीहरूविरुद्ध बरामद भएको २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको रकमको बिगो र सोअनुसारको जरिवाना मागदाबी गरिएको छ।गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा उक्त विदेशी मुद्रा चीनतर्फ लुकाएर लैजाने तयारीमा रहेका बेला प्रहरीले चालक लामालाई नियन्त्रणमा लिएको थियो।लामाले ट्रकको चालक सिट पछाडि फल्स बटम तयार गरेर रकम लुकाएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।