• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

गण्डकीका निलम्बित सांसद राजीव गुरूङले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन रिट फिर्ता लिए

काठमाडौं ।गण्डकी प्रदेशका निलम्बित सांसद राजीव गुरूङ उर्फ दीपक मनाङेले सर्वोच्च अदालतमा फैसला पुनरवलोकनका लागि दर्ता गरेको रिट फिर्ता लिएका छन्।

कात्तिक २० गते सर्वोच्च अदालतले ज्यान मार्ने कसुरमा दोषी ठहर गर्दै उनलाई कैद सजाय सुनाएको थियो। यसपछि, गुरूङले माघ ४ गते पुनरवलोकनका लागि निवेदन दिएका थिए, तर उक्त निवेदनको सुनुवाइ हुन सकेको थिएन।

सोमबार उनले पुनरावलोकन रिट फिर्ता लिने निवेदन दिएका थिए। बिहीबार सर्वोच्च अदालतको इजलासले उक्त निवेदन स्वीकार गर्दै रिट फिर्ताको आदेश जारी गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।

हाल, गुरूङ डिल्लीबजार कारागारमा थुनामा छन्। उनी २०६१ सालको वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ)को हात छिन्ने घटनामा दोषी ठहर भएका थिए।सर्वोच्च अदालतको इजलासले पुनरावेदन अदालतको निर्णयलाई सदर गर्दै उनलाई सजाय सुनाएको थियो।

उनले २ वर्ष ८ महिना जेलमा बसिसकेका थिए, र कात्तिक महिनामा थप २ वर्ष ४ महिना जेल बस्नुपर्ने निर्णय भएको थियो। त्यसपछि, जिल्ला अदालत काठमाडौंले फागुन २३ गते उनको सजायमा २० प्रतिशत कटौती गर्ने आदेश दिएको थियो।