• २०८३ साउन २८
  • 2026 August 13, Thursday

अमेरिकाले चीनमाथिको उच्च भन्सार कायम राख्ने ट्रम्पको संकेत

काडमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने अधिकांश आयातमा हाल लागिरहेको १४५ प्रतिशत भन्सार महसुल तत्कालका लागि कायमै रहने बताएका छन्। यद्यपि अमेरिका र चीनबीच व्यापार वार्ता पुनः सुरु हुने तयारी भइरहेको छ।

चीनका लागि नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथग्रहण समारोहमा ट्रम्पले अमेरिका अब अघिल्ला दिनजस्तो व्यापार घाटा सहनुपर्ने अवस्था नरहेको दाबी गरे। “हामीले अघिल्ला वर्षहरूमा वार्षिक १० खर्ब डलर गुमाइरहेका थियौं, अब त्यो अवस्था छैन,” उनले भने।

ओभल अफिसमा पत्रकारले भन्सार महसुल घटाउने विषयमा सोध्दा ट्रम्पले “विचार गरिएको छैन” भन्ने स्पष्ट जवाफ दिए। उनले चीनको तर्फबाट वार्ता पहल गरिएको दाबीलाई अस्वीकार गर्दै “उनीहरूले आफ्नो फाइल फेरि हेर्नुपर्छ” भने।

ट्रम्पको यस अभिव्यक्तिपछि अमेरिकी सेयर बजारमा केही गिरावट आएको सीएनएनले जनाएको छ। सन् २०२३ मा सुरु भएको भन्सार महसुल युद्धले दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक सम्बन्धमा अवरोध सिर्जना गरेको छ। यद्यपि, यस हप्ताको अमेरिका–चीन वार्ता पछिल्लो समयको पहिलो औपचारिक बैठक हुनेछ।

यसैबीच, अमेरिकी फेडरल रिजर्वका अध्यक्ष जेरोम पावेलले व्यापार वार्ताको नतिजाले अमेरिकी अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्न सक्ने जनाएका छन्। “हामी नयाँ चरणमा प्रवेश गर्दैछौं, जसले आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन सक्छ,” पावेलले भने।