• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सरकारको आतंकवादविरोधी अडानको स्वागत गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै त्यसबाट उत्पन्न भारत–पाकिस्तान तनावप्रति गम्भीर चासो व्यक्त गरेको छ। उक्त आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले आतंकवादले कसैको हित नगर्ने उल्लेख गर्दै क्षेत्रीय शान्ति र स्थिरतामा नेपालको स्वाभाविक चासो रहेको बताए। उनले भने, “पहलगाम आक्रमणपछि भारत–पाकिस्तानबीच बढ्दो तनावले नेपाललाई सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलामा असर पार्न सक्छ।”

खनालले परराष्ट्र मन्त्रालयले ढिलो गरेर भए पनि आतंकवादविरुद्ध सार्वजनिक गरेको अडानको स्वागत गरे। साथै, पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षाका लागि स्पष्ट योजना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले पाकिस्तानमा अध्ययनरत ८० जना नेपाली विद्यार्थीहरूले उद्धार र सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको जानकारी गराउँदै समग्र परिस्थितिको मूल्याङ्कन र सरकारी तयारीबारे संसदलाई जानकारी गराउन सभामुखसमक्ष रूलिङको माग समेत गरे।