• २०८३ साउन २८
  • 2026 August 13, Thursday

मेक्सिकोमा मेयर उम्मेदवारसहित चार जनाको गोली प्रहारबाट मृत्यु

काठमाडौँ । मेक्सिकोको भेराक्रुजमा मेयर पदका उम्मेदवार सहित चार जनाको गोली हानी हत्या गरिएको छ।

मेयर पदकी उम्मेदवार येसेनिया लारा गुटेरेजमाथि चुनाव प्रचारका क्रममा गोली प्रहार भएको हो। यो हत्याको घटना फेसबुकमा गरिएको लाइभ स्ट्रिमिङमा रेकर्ड गरिएको थियो।

भिडियोमा, येसेनिया लारा गुटेरेज आफ्नो अभियानका क्रममा समर्थकहरूलाई भेट्दै सडकमा हिँडिरहेकी थिइन्, जब आक्रमणकारीहरूले उनीमाथि गोली चलाए।गोलीबारीको क्रममा २० राउन्ड गोली चलाइएको थियो, जसको परिणामस्वरूप मेयर उम्मेदवार सहित चार जनाको मृत्यु भएको र तीन जना घाइते भएका छन्।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले उक्त आक्रमणको पुष्टि गरेकी छन् र हत्याको कारण अझै स्पष्ट नभएको बताइन्। यसबारे छानबिन जारी रहेको उनले जनाएकी छिन्। येसेनिया लारा गुटेरेज मेक्सिकोका राष्ट्रपतिको पार्टी मोरेना पार्टीकी सदस्य थिइन्।

आगामी १ जूनमा मेयर पदको लागि मतदान हुँदै थियो। अनुसन्धान एजेन्सीहरूले यस हत्याको घटनामा अनुसन्धान सुरु गरेका छन्।