• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

अमेरिका–कतारबीच १२ खर्ब डलरको ठूला सम्झौता

काठमाडौं । कतार भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमिर शेख तामिम बिन हमद अल–थानीबीच बुधबार विभिन्न १२ खर्ब अमेरिकी डलर बराबरका सम्झौताहरूमा हस्ताक्षर भएका छन्।

ह्वाइट हाउसका अनुसार सम्झौतामा २४३ अर्ब डलरको वित्तीय सम्झौता पनि समावेश छ, जसअन्तर्गत कतारले बोइङ विमान, हतियार, प्राकृतिक ग्यास र क्वान्टम प्रविधिसम्बन्धी सामग्रीहरू खरिद गर्नेछ।

कतार एयरवेजले अमेरिकामा निर्मित २१० वटा बोइङ ७८७ ड्रिमलाइनर र ७७७ एक्स विमान खरिद गर्न बोइङ तथा जीई एयरोस्पेससँग ९६ अर्ब डलरको सम्झौता गरेको छ।

युएई प्रस्थान गर्दै ट्रम्प
मध्यपूर्व भ्रमणका क्रममा ट्रम्प साउदी अरेबियापछि कतार पुगेका हुन्। कतारका अमिरले दोहा विमानस्थलमा विशेष सम्मानका साथ ट्रम्पको स्वागत गरेका थिए, जसमा रातो साइबर ट्रक र ऊँटहरूको प्रयोग गरिएको थियो।

ट्रम्प आज आफ्नो भ्रमणको अन्तिम गन्तव्य युएईतर्फ प्रस्थान गर्दैछन्। युएईमा उनले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गर्ने कार्यक्रम छ। उक्त भेटमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सेमीकन्डक्टर र ऊर्जा क्षेत्रमा सम्भावित सम्झौताहरू हुने अनुमान गरिएको छ।