• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

गभर्नर नियुक्ति आजपनि अन्योलमा, सिफारिस समिति वैठक अझैसम्म डाकिएन

राजनीतिक सहमति जुटिसकेको भनिए पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया आज पनि अघि बढ्ने सम्भावना न्युन देखिएको छ। गभर्नर छनोट सिफारिस समितिको बैठक आजसम्म पनि नबसेपछि नियुक्तिको प्रक्रिया अझै अन्योलमा परेको हो।

आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको भए पनि गभर्नर नियुक्तिसम्बन्धी सिफारिस समिति अझैसम्म नबसेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठक आज बस्ने कि नबस्ने भन्ने पनि पक्का नभएको सचिवालयको भनाइ छ।

गभर्नर छनोट समिति बस्न अर्थमन्त्रीले आह्वान गर्नुपर्छ। यद्यपि अहिलेसम्म अर्थमन्त्रीले सम्भावित उम्मेदवारको नामसमेत सदस्यहरूलाई जानकारी गराएका छैनन्। यदि बैठक बसेर पनि प्रस्तावित नाममा सहमति जुटेन भने निर्णय लम्बिन सक्ने सम्भावना उच्च छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति जुटाएर अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने भनिए पनि प्रक्रिया अझै औपचारिक रूपमा अगाडि बढ्न सकेको छैन। यसअघि गुणाकर भट्टको नाम सिफारिस भए पनि कांग्रेसभित्रै समर्थन नपाउँदा उनको नियुक्ति रोकिएको थियो। त्यसपछि देउवाले पौडेलको नाम अघि सारेका थिए।