• २०८३ मंसिर १३
  • 2026 November 29, Sunday

पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति क्षेत्रका प्राज्ञ एवं विज्ञहरूको साझा संघ ‘नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन प्राज्ञिक समाज’ को गठन

डा. हरि प्रकाश चन्दको अध्यक्षतामा नौ सदस्यीय तदर्थ कार्यसमिति चयन/संरक्षकमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. खड्ग केसी प्रस्तावित

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र नीति तथा कूटनीतिको क्षेत्रमा कार्यरत प्राज्ञ, अनुसन्धानकर्ता, विज्ञ तथा अभ्यासकर्ताहरूलाई एउटै साझा संस्थागत मञ्चमा आबद्ध गर्ने उद्देश्यसहित नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन प्राज्ञिक समाज (Nepal Academic Society for International Relations Studies – NASIRS) गठन गरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ डा. हरि प्रकाश चन्दको अध्यक्षतामा गठित संस्थाले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र नीति, कूटनीति तथा समसामयिक विश्व राजनीतिका विषयमा अध्ययन, अनुसन्धान, विमर्श र नीतिगत बहसलाई संस्थागत रूपमा अगाडि बढाउने लक्ष्य लिएको छ।

संस्थाको प्रथम ऐतिहासिक बैठक आज सम्पन्न गर्दै सो समितिले विविध विषयमा निर्णय गरेको छ ।

संस्थाको तदर्थ कार्यसमितिमा निम्न पदाधिकारी तथा सदस्यहरू रहेका छन्:

१. अध्यक्ष: डा. हरि प्रकाश चन्द
२. उपाध्यक्ष: श्री अनुपमा पोखरेल
३. महासचिव: डा. विनोद खण्ड तिमिल्सेना
४. सचिव: डा. गोविन्द कुमार शाह
५. कोषाध्यक्ष: डा. लोक बहादुर वि.के. (लोकेश)
६. सदस्य: श्री अञ्जली श्रेष्ठ
७. सदस्य: श्री कृति भट्टराई
८. सदस्य: श्री लीला प्रसाद शर्मा
९. सदस्य: श्री सिताराम भट्टराई

अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी अध्ययन, अनुसन्धान र नीतिगत विमर्शलाई संस्थागत गर्ने लक्ष्य बोकेको लिएको सो संस्थाको प्रथम बैठकमा तदर्थ समितिका सबै पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो।

बैठकमा नेपालको बदलिँदो भूराजनीतिक परिवेश, राष्ट्रिय हितको संरक्षण, परराष्ट्र नीतिको प्रभावकारिता तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको भूमिका सुदृढ बनाउन प्राज्ञिक र व्यावहारिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको विषयमा छलफल गरिएको थियो।

NASIRS ले नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी अध्ययन र अनुसन्धानको दायरा विस्तार गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक संवाद र सहकार्य प्रवर्द्धन गर्ने, अनुसन्धानमा आधारित नीतिगत सुझाव प्रस्तुत गर्ने तथा नयाँ पुस्ताका अनुसन्धानकर्ता र अभ्यासकर्ताहरूलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।

त्यसैगरी, नेपालको परराष्ट्र नीति, छिमेक सम्बन्ध, क्षेत्रीय तथा विश्व शक्ति सन्तुलन, भूराजनीति, आर्थिक कूटनीति, सार्वजनिक कूटनीति र अन्तर्राष्ट्रिय संस्थाहरूमा नेपालको भूमिकालगायतका विषयमा नियमित छलफल, अनुसन्धान, प्रकाशन तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने संस्थाको लक्ष्य रहेको छ।

संस्थालाई अनुसन्धानमुखी, समावेशी, व्यावसायिक तथा परिणाममुखी प्राज्ञिक मञ्चका रूपमा विकास गर्ने र विभिन्न पुस्ताका प्राज्ञ तथा अभ्यासकर्ताहरूबीच ज्ञान, अनुभव र विचारको आदानप्रदानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

NASIRS ले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक निकाय तथा सम्बन्धित विज्ञहरूसँग सहकार्य विस्तार गर्दै नेपालको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी अध्ययन, अनुसन्धान र नीतिगत विमर्शमा अर्थपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिको क्षेत्रमा कार्यरत प्राज्ञ र अभ्यासकर्ताहरूलाई एउटै साझा मञ्चमा एकताबद्ध गर्दै नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक क्षमतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउनु यस संस्थाको दीर्घकालीन अभिप्राय रहेको छ।