• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा पुनः सुनुवाइ, आजै फैसला हुने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर गरेका दुई रिटसमेतको सुनुवाइ सुरु भएको थियो। सो दिन इजलासले बहस छोट्टाएर मंगलबार नै सक्ने प्रयास गरे पनि समय नपुग्दा सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

मंगलबार लामिछानेका तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल र विवेक राउतलगायतले बहस गरेका थिए।

आज वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले लामिछानेको पक्षबाट बहस गर्दैछन्। त्यसपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायी, पीडितपक्षका वकिल र अन्त्यमा सरकारी वकिलले बहस गर्ने कार्यक्रम रहेको छ।

यदि आजै सुनुवाइ सकियो भने लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन र उनीसहित जोशीले दायर गरेका रिटमा आजै सर्वोच्च अदालतको आदेश आउन सक्नेछ।