• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा कर्मचारीको धर्ना

काठमाडौं। प्रस्तावित निजामती कर्मचारी ऐनमा आफ्ना मागहरू नसमेटिएको भन्दै निजामती कर्मचारीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा शान्तिपूर्ण धर्ना दिएका छन्।

धर्नामा सबै कर्मचारी सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य प्रकाश खातीले जानकारी दिए। खातीका अनुसार ऐन बन्न १० वर्ष लाग्दा समेत २० वर्षसम्म पनि एक पदबाट माथिल्लो पदमा बढुवा नहुने व्यवस्था समावेश भएकाले त्यसको विरोधमा दबाब स्वरूप धर्ना गरिएको हो।

उनीहरूले ऐनमा प्रणालीगत त्रुटि र असफलता समाधान गर्ने कुनै व्यवस्था नभएको गुनासो गरेका छन्। खातीले उच्च प्रशासकीय अभिभावकहरू आत्मकेन्द्रित भएको र त्यसले गर्दा आम कर्मचारीका मुद्दा ओझेलमा परेको आरोप पनि लगाए।

निजामती कर्मचारी विधेयक अहिले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भई संसद्मा पेश हुने तयारीमा छ।