• २०८३ मंसिर १०
  • 2026 November 26, Thursday

नेपाल–बेलायत व्यापार दोब्बर बनाउन अध्यक्ष राठीको जोड, दोहोरो कर मुक्ति सम्झौता तत्काल अघि बढाउन आग्रह

काठमाडौं । नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनबीसीसीआई) का अध्यक्ष रोशन राठीले नेपाल र बेलायतबीचको ऐतिहासिक २१० वर्ष पुरानो सम्बन्धलाई आर्थिक सहकार्य र व्यापार विस्तारमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित युके–नेपाल व्यापार मञ्चलाई सम्बोधन गर्दै अध्यक्ष राठीले दुई देशबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरमा बलियो सम्बन्ध रहे पनि व्यापारिक साझेदारी अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए । बेलायतका लागि नेपाल १२२औँ ठूलो व्यापारिक साझेदार हुनु २१० वर्ष पुरानो सम्बन्धको तुलनामा पर्याप्त नभएको उनको भनाइ थियो ।

उनका अनुसार नेपाल र बेलायतबीचको द्विपक्षीय व्यापार वार्षिक करिब २९३ मिलियन पाउन्ड रहेको छ । यसमध्ये बेलायतमा नेपालको निर्यात करिब २०९ मिलियन पाउन्ड र बेलायतबाट नेपालको आयात करिब ८४ मिलियन पाउन्ड रहेको उनले जानकारी दिए ।

‘२१० वर्ष पुरानो सम्बन्ध र बेलायतका लागि नेपाल १२२औँ ठूलो व्यापारिक साझेदार हुनु कतै न कतै मेल खाँदैन । हामीले अझ धेरै व्यापार गर्न आवश्यक छ,’ राठीले भने, ‘नेपाल र बेलायतबीचको व्यापारलाई दोब्बर बनाउने दिशामा अघि बढ्नुपर्छ ।’

राठीले नेपाल–बेलायतबीच व्यापार तथा लगानी विस्तारका लागि नीतिगत र संस्थागत वातावरण सुधार गर्नुपर्नेमा जोड दिए । विशेषगरी लामो समयदेखि प्रतीक्षामा रहेको दोहोरो कर मुक्ति सम्झौता (डबल ट्याक्सेसन एभ्वाइडेन्स एग्रिमेन्ट) लाई प्राथमिकताका साथ अघि बढाउन उनले दुवै सरकारसँग आग्रह गरे ।

उनका अनुसार उक्त सम्झौताले नेपाल र बेलायतमा लगानी गर्ने व्यवसायीलाई करसम्बन्धी स्पष्टता र निश्चितता प्रदान गर्नुका साथै लगानीकर्ताको विश्वास बढाउनेछ । यसले सीमापार व्यापार तथा लगानीलाई प्रोत्साहन गर्दै दुई देशबीचको व्यावसायिक सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने उनले बताए ।

‘नेपाल र संयुक्त अधिराज्यबीचको दोहोरो कर मुक्ति सम्झौता एनबीसीसीआईको पैरवीको मुख्य विषय रहँदै आएको छ । दुवै सरकारले जारी छलफललाई उच्च प्राथमिकता दिई सम्झौतामा हस्ताक्षर गर्ने दिशामा काम गर्नुपर्छ,’ राठीले भने ।

उनले व्यापार तथा लगानीको सम्बन्धलाई निरन्तरता दिन दुवै देशका निजी क्षेत्रबीच प्रतिनिधिमण्डल आदानप्रदान आवश्यक रहेको पनि औँल्याए । बेलायतस्थित समकक्षी चेम्बरलाई नेपालमा व्यावसायिक प्रतिनिधिमण्डल ल्याउन आग्रह गर्दै नेपालबाट पनि बेलायतमा प्रतिनिधिमण्डल लैजाने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

राठीले व्यापार र लगानीसँगै शिक्षा, अनुसन्धान, भविष्यका सीप, ऊर्जा तथा पूर्वाधार र डिजिटल अर्थतन्त्रलाई नेपाल–बेलायत सहकार्यका महत्त्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरे । यस्ता क्षेत्रमा केन्द्रित छलफलबाट दुवै देशका व्यवसाय तथा समुदायले प्रत्यक्ष लाभ लिन सक्ने अवसर पहिचान गर्नुपर्ने उनले बताए ।

एनबीसीसीआईले आफ्ना सदस्य संस्थाहरूलाई व्यावसायिक अवसर पहिचान गर्न र सहकार्य विस्तार गर्न सहयोग पुग्ने विभिन्न स्रोत तथा सामग्रीसमेत तयार पारेको उनले जानकारी दिए । अर्थपूर्ण व्यावसायिक साझेदारी विश्वास, साझा लक्ष्य र निरन्तर सहकार्यमा आधारित हुनुपर्ने उल्लेख गर्दै उनले व्यापार मञ्चलाई छलफलमा मात्र सीमित नराखी ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

नेपाल र बेलायतबीचको आर्थिक सम्बन्धलाई थप गतिशील बनाउन निजी क्षेत्र, सरकारी निकाय तथा संस्थागत साझेदारबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रमको अन्त्यमा राठीले नेपाल र बेलायतबीचको सहकार्यलाई साझा सपना निर्माण गर्ने र त्यसलाई व्यवहारमा उतार्ने अवसरका रूपमा लिनुपर्ने बताए । दुई देशका व्यवसायीबीच आज स्थापित हुने संवाद र सम्बन्धले पारस्परिक लाभदायक आर्थिक भविष्य निर्माणमा योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।