• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

बल्खुबाट लागुऔषध र साढे १९ हजार नगदसहित ४ युवक पक्राउ

काठमाडौं।  प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट नगद १९ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको छ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर–२ का २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेल–२ का २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोटको तारकेश्वर–४ का २१ वर्षीय सुरेन्द्र अछामी र धादिङको त्रिपुरासुन्दरी–४ का २५ वर्षीय विजय आले मगर रहेका छन्। उनीहरू हाल काठमाडौंको टेकु र बूढानीलकण्ठ क्षेत्रमा बसोबास गर्दै आएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी अपिलराज बोहोराका अनुसार बल्खु क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले बल्खु सडकखण्डमा शंका लागेर उनीहरूलाई रोकेको थियो।

जाँच गर्दा उनीहरूबाट १०६७ थान ट्रामाडोल र नगद रकम फेला परेको हो। प्रारम्भिक अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।