• २०८३ साउन २५
  • 2026 August 10, Monday

कर्मचारीको चेतावनी : विधेयक संशोधन नगरे सशक्त आन्दोलन

काठमाडौं ।  संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि धर्ना दिएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित विधेयक कर्मचारीमैत्री नभएको भन्दै उनीहरूले विरोध जनाएका हुन्। धर्नामा सहभागी कर्मचारीहरूले सेवाअवधि पुगेका कर्मचारीलाई एक तह बढुवा पाउन ७ वर्ष होइन, ५ वर्ष समयावधि कायम गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटकका लागि पुनः छनोटको अवसर दिनुपर्ने लगायतका माग राखेका छन्।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालका अनुसार आन्दोलनमा नासु र खरिदार तहका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको छ। उनीहरूले तीनै तहका कर्मचारीलाई समान रूपमा निजामती सेवाभित्र समेट्नुपर्ने, र अन्तरप्रदेश सरुवाको व्यवस्था विधेयकमा सुनिश्चित गर्नुपर्ने मागसमेत राखेका छन्।

कर्मचारी पक्षले विधेयकले कर्मचारीको मनोबल घटाउने खतरा रहेको भन्दै सोमबारदेखि थप सशक्त आन्दोलनको चेतावनीसमेत दिएका छन्। यता, मुख्यसचिव र सचिवस्तरका कर्मचारीहरू पनि विधेयकमा उल्लेखित दुई वर्षे ‘कुलिङ पिरियड’ हटाउन दबाब दिँदै सक्रिय रहेका छन्।